असोज ९ गते । चितवनको मुग्लिन–नारायणगढ सडक खण्डमा अवरुद्ध भएको तुइनखोलाको पहिरो पन्छाइएपछि आज रातिदेखि सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको छ।
डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सडक किनार सफा गर्दै दुईतर्फी यातायात सुचारु गर्नेगरी तयारी भइरहेको छ। तीन दिनदेखि रोकिएका सवारी साधनको चाप अत्यधिक भएकाले एकै पटक यातायात चलाउन मिल्ने वातावरण बनाइएको उनले बताए।
मंगलबार साँझ खसेको ठूलो पहिरो बुधबार बिहानैदेखि हटाउने काम सुरु भएको थियो। बिहीबार दिनभर निरन्तर काम भए पनि आज साँझदेखि भने बत्ती बालेर पनि पन्छाउने काम जारी राखिएको हो। पहिरो पन्छाउन ६ वटा मेसिनरी उपकरण परिचालन गरिएको कार्यालयले जनाएको छ।
यसअघि असोज ३ गते पनि सोही स्थानमा पहिरो खसेर ४६ घण्टा सडक अवरुद्ध भएको थियो। पुनः मंगलबार साँझ ठुलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रु र सयौं सवारी साधन रोकिएका थिए।




