Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

धार्मिक, ऐतिहासिक एवम् सांस्कृतिक एकताको प्रतीक; ‘सतौँ चण्डी कालिका’ मन्दिर स्याङ्जा

✍शोभित खड्का क्षत्री

प्रारम्भ :

नेपालको कर्णाली क्षेत्रको जुम्लालाई आधार बनाएर १२ औँ शताब्दीमा सम्राट नागराजद्वारा स्थापित खस साम्राज्यको विघटन पश्चात् पश्चिम नेपालमा बाइसे र प्युठानदेखि पूर्व (गोर्खासम्म फैलिएको विशाल भूगोलमा) चौबिसे राज्यहरूको स्थापना भएको हो । त्यही ऐतिहासिक कालखण्डको वि.सं. १५१० मा हालको स्याङ्जा पुतलीबजार न.पा. १४, सतौँमा सतहुँ (सतौँ) राज्यको राजधानी परिसरमा तत्कालीन राजा शिखुम्ब खानद्वारा ऐतिहासिक चण्डी कालिका मन्दिरको स्थापना भएको जनविश्वास छ । तर यस भनाइलाई प्रमाणित गर्ने कुनै ठोस पुरात्वातिक वा लिखित प्रमाणहरू भने प्राप्त हुन सकेका छैनन् । 

मध्यकालमा निर्माण गरिएको यस सतौँ चण्डी कालिका मन्दिरलाई स्याङ्जा जिल्लाको एक चर्चित शक्तिपीठका रूपमा स्वीकारिएको पाइन्छ । आदि शक्तिका रूपमा लोकप्रिय सनातन हिन्दु धर्मकी देवी दुर्गाको एक उग्र रूप ‘चण्डी कालिका’ लाई मानिन्छ । मार्कण्डेय पुराणको देवी महात्म्य (चण्डी पाठ) भागमा दुर्गादेवीलाई गुण र स्वभाव का आधारमा विभिन्न नामहरूले पुकारीएको छ जस्तै; दुर्गा (दुःख र कष्टलाई नाश गर्ने), शिवानी (शिव भगवान्‌की पत्नी), भवानी (समस्त जगत्‌की स्वामिनी), अम्बिका (विश्वकी माता), पार्वती (पर्वत राजा हिमालकी पुत्री), काली/महाकाली (काल र मृत्युकी देवी, भयङ्कर स्वरूप), उमा (प्रकाश र शान्तिकी देवी), चण्डीका/चण्डी (असुरलाई दण्ड दिने क्रोधित र भयानक स्वरूप; उग्ररूप) भद्रकाली (कल्याणकारी र मङ्गलमयी स्वरूप), कात्यायनी (ऋषि कात्यायनकी पुत्री), गौरी (स्वच्छ  र उज्ज्वल), जगदम्बा (समस्त जगत्‌की माता), वैष्णवी (विष्णु भगवान्‌को शक्ति), नारायणी (नारायण स्वरूप विष्णुको शक्ति), आदि पराशक्ति (समस्त शक्तिको आदि स्रोत), रक्तदन्तिका (रगतजस्तो दन्त भएकी; असुरको रक्तपान गर्ने), शाकम्भरी (हरियाली र उर्वरताकी देवी) र दुर्गतीनाशिनी (विपत्तिलाई नाश गर्ने) श्रेष्ठ देवीको रूपमा मानिन्छ । यिनै शक्तिशाली देवी अवतारका रूपमा चण्डी देवीको पूजा आरधाना गरिँदै आइएको छ । सतौँ चण्डी कालिका यिनै देवीको पवित्र मन्दिर रहेको स्थान हो ।

यस मन्दिरको वरपर त्रिकोणात्मक रूपमा स्थापना गरिएका कोट (दुर्गा), रजस्थल (दरबार), चण्डी मन्दिरमा तत्कालीन नेपाली संयुक्त सेना र सतौँ राज्यका शाहवंशीय राजाहरूबिच भएको द्वन्द्व, युद्ध, आदि सम्बन्धमा यस अनुसन्धानात्मक लेखमा चर्चा गरिएको छ । डा. राजाराम सुवेदीद्वारा लिखित ‘स्याङ्जास्थित चौबिसे राज्यहरूको इतिहास’ अनुसन्धानात्मक लेखमा सतौँ राज्यको ऐतिहासिक र सामरिक पक्षहरूको विश्लेषण गरिएको छ । लेखमा विभिन्न कालखण्डमा सतौं राज्यमा शासन गर्ने राजाका नामहरू उल्लेख गर्नु गरिएको छ जस्तै, शिखुम्ब खान (वि.सं. १५१०), ऐत्बम्म खान, महिपति खान, चामु शाही, लेजु खान, तुला शाही, बहादुर शाही, क्षेत्र शाही, पृथ्वीपति शाही, दावानल शाही, चानु शाही, दीर्घ शाही र टेकबहादुर शाही (तेगबहादुर शाही) । राजा शिखुम्ब खान पश्चिम ४ नम्बर स्याङ्जामा शासन गर्ने राजा मिचा खान (अजयसिंह) का माइला छोरा थिए । 

ऐतिहासिक पृष्ठभूमि :

चौबिसे राज्यहरूको, शासन प्रणाली राजा केन्द्रित हुन्थ्यो । राजाले नै प्रशासनिक, कानुन, शान्ति सुरक्षा, दण्ड जरिवाना र धार्मिक सहिष्णुता सुनिश्चित गर्ने सर्वोच्च अधिकारीको भूमिका निर्वाह गर्दथे । सतौं राज्यमा राजाले त्रिकोणात्मक रणनीतिक योजना अनुसार आफ्‌नो राजधानीको स्थापना गरे । सामरिक दृष्टिकोणले सुरक्षित स्थान आवश्यक हुने हुँदा सतौँ राज्यको राजधानी पहाडको टुप्पोमा स्थापना गरिएको हो । यस्तो स्थानमा राज्य स्थापना गर्दा शत्रुहरूको आक्रमणबाट बच्न र लडाइँको बेलामा शत्रुमाथि जाइ लाग्न सहज हुन्थ्यो ।

वि.सं. १८०९ आषाढ २ गते पृथ्वीनारायण शाहले नुवाकोटबाट महोद्धामकीर्ति शाह, रुद्रशाह, काजी कालु पाण्डेहरूलाई गोर्खादेखि पश्चिमतर्फका चौबिसे राज्यहरूसँग सन्धि विग्रहका काममा भरपरि पत्रमार्फत सम्पर्क गर्न निर्देशन दिएका थिए । उक्त पत्रमा पृथ्वीनारायण शाहले आफू पूर्वतर्फको स्थिति बुझ्‌न लागेकाले पश्चिमतर्फको राजनीतिक परिस्थितिको जिम्मा दिई लम्जुङ, तनहुँ, कास्की, पश्चिम ४ नं. नुवाकोट (स्याङ्जा), सतौँ (सतहुँ), भीरकोट, गह्रौँ, पर्वत, पाल्पा, प्युठान (भित्रीकोट), आदि चौबिसे राज्यहरू गोर्खाको विरुद्धमा सङ्गठित रूपमा नउभिउन् भन्ने सुनिश्चित गर्न रणनीतिक योजनाअनुसार पहल गर्न सुझाएका  थिए । त्यस पत्रको व्यहोरा यस्तो छ– “पाल्पासित बहुत मिठो गर, पाल्पासित बलियो गाँठी पार, कास्की, भीरकोट छेउ पनि मानिस पढाव” (सुवेदी,  पृ.२९) । 

पृथ्वीनारायण शाहले नेपाल उपत्यका विजय गरेपछि चौबिसे राज्यहरूसँग सम्बन्ध बढाई पश्चिमतर्फ विजय गर्ने योजना बनाए । उनले त्यसक्रममा वंशराज पाँडे र केयरसिंह बस्नेतलाई सेनासहित पश्चिमतर्फ पठाए । केयरसिंह बस्नेत तनहुँको बाटो भएर जाँदा त्यहाँको सेनालाई हातमा लिई वि.सं. १८२७ मा रिसिङका राजालाई पनि आफ्‌नो अधीनमा पारे । भीरकोटका राजा इन्द्रभुपाल खानले पृथ्वीनारायण शाहको संयुक्त नेपाली सेनाको आश्रयमा आउन नमान्दा केयरसिंह बस्नेतको नेतृत्वमा आक्रमण भयो । त्यसपछि क्रमशः सतौं र पश्चिम ४ नं. नुवाकोटलाई पनि सेनाले अधीनस्त पार्‍यो । गृहकोटको युद्धमा भीरकोटे राजाको हार भएको हुँदा पर्वततिर पलायन भए । नेपालको एकीकरण हुँदा सतहुँ, भीरकोट, रिसिङमाथि विजय प्राप्त गरी ती राज्यका राजाहरूलाई अभिमानसिंह बस्नेतले साथमा लिई काठमाडौँ पुगे (पूर्णिमा २०, २०५५ माघ–चैत्र, पृ. ३२६) । वि.सं. १८४२ आषाढमा कास्कीको सेना, नुवाकोटको आड लिई नेपाली सेनालाई रोक्न बसेको चाल पाई नुवाकोटतिर लाग्दा नुवाकोट नेपालको अधीनमा पर्‍यो । नुवाकोटमा सतहुँका राजाले नेपालको अधिपत्यलाई स्वीकार गरेका हुनाले नेपाली सेनाको एउटा आश्रय सतहुँ हुन गयो र आषाढ १६ गते सतहुँ कोटको तयारीपछि नेपाली सेनाले गह्रौँमाथि आक्रमण गर्‍यो भन्ने सन्दर्भ डा. राजाराम सुवेदीले राजाराम सुवेदी रचनावली (भाग १) पुस्तकको शीर्षक “स्याङ्जास्थित चौबीसे राज्यहरूको इतिहास” पृष्ठ नं. ३६ मा उल्लेख गरेका छन् ।

तर नेपाल एकीकरणको समयमा सतौँ राज्य कसरी पृथ्वीनारायण शाहको नेपाली सेनाको अधीनमा आएको थियो भन्ने बारे रजस्थल मा.वि. का पूर्व अध्यक्ष गुरु ढकालद्वारा परिक्रमा युट्युव च्यानल द्वारा लिइएको अन्तर्वार्तामा भनेका कुराहरू डा. सुवेदीको भनाइसँग आंशिक रूपमा मात्रै मेल खान्छन् । डा. सुवेदीको भनाइअनुसार, सतौँ राज्यले पृथ्वीनारायण शाहको सेनासँग सजिलै अधीनस्थ स्वीकारेको भाव प्रकट गरेका छन् । रजस्थल मा.वि. का पूर्व अध्यक्ष ढकालका अनुसार केयरसिंह बस्नेतको नेतृत्वमा गोर्खाली सेनाले मर्स्याङ्दी तरेर रिसिङ, घिरिङ, कास्की, पश्चिम ४ नं. नुवाकोट, पर्वत, भीरकोट आदि जितेपछि सतौँमा (११००– १२००) सय सेनाले आक्रमण गरेको थियो । तर सतौँका सेनाले प्रथम पटक प्रति आक्रमण गर्दा बैरी सेनातर्फ ठुलो सङ्ख्यामा हाताहत भएको र रजस्थल तलको गाउँमा सतौँका सेनाको शत्रुसँग घमासान युद्ध हुँदा बैरीतर्फका बहुसङ्ख्यक सेनाहरू मारिएको हुँदा रगतको खोलो बगेको गाँउलाई बैरीखोला भन्ने गरिएको हो । विभिन्न कालखण्डमा यो भनाइ अपभ्रंश भई बैदीखोला नाम रहन गयो । दोस्रो पटक राजेन्द्रलक्ष्मी शाहले देवर रणबहादुर शाहको नायबीको रूपमा सतौँमा आक्रमण गर्दा सतौँका राजाले आत्मसमर्पण गर्नुपरेको थियो । यी विवादास्पद भनाइहरूबारे गहन अध्ययन अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन आवश्यक देखिन्छ ।


चण्डी कालिका देवीको प्रादुर्भाव :

चण्डी कालिका देवीको प्रादुर्भावको सन्दर्भ मार्कण्डेय पुराण र सर्वशक्तिवान् देवी दुर्गासँग जोडिएको पाइन्छ । देवी दुर्गा विभिन्न स्वरूप लिएर प्रकट हुन् सक्ने विश्वास गरिन्छ । दैत्य र शत्रुहरूको नाश गरी देवता र समस्त प्राणी जगत्‌को रक्षा गर्न दुर्गा माताले चण्डीको रूपमा आफूलाई प्रस्तुत भएकोे प्रसङ्ग पुराणमा उल्लेख छ । प्रचलित जनश्रुतिअनुसार, मध्यकालमा स्थानीय हल्लेखोला गाउँकी एक बालिकाले बाख्रा चराउँदै गर्दा अचानक माथिबाट पहिरो आई उनलाई पुरेछ र स्थानीय मानिसहरूले खोजी गर्न पहिरो पन्छाउदा उनी ढुङ्गाको बिचमा सकुशल भेटिएको हुँदा देवीको कृपाले बच्न सफल भएको ठानी तत्कालीन राजालाई जानकारी गराई राजाको निर्देशनमा चण्डी कालिका मन्दिर स्थापना भएको लोकश्रुति छ । 

पूजा विधि :

सतौँ चण्डीकालिका मन्दिरमा मध्यकालदेखि अपनाइँदै आएको पूजा विधि र गण्डकी प्रस्रवण क्षेत्रका अन्य चौबिसे राज्यहरू जस्तैः लम्जुङ, कास्की, पश्चिम ४ नं नुवाकोट, गह्रौँ, भीरकोट, ढोर, पैयुँ, रिसिङ, घिरिङ, पाल्पा, गुल्मी, अर्घा, खाँची, पर्वत, गलकोट, मुसिकोट, धुरकोट, इस्मा, प्युठान, गजरकोट, उदयपुर, गोर्खा र मुस्ताङमा अवलम्बन गरिँदै आएको पूजा विधिमा आधारभूत समानता पाइन्छ । तर यी धेरै राज्यहरूमा कोट, रजस्थल र देवीका मन्दिर निर्माण गर्न स्थान साँघुरो भएको हुँदा कोट र मन्दिर मात्र पनि रहेको पाइन्छ । यस मन्दिरमा हरेक महिनाका औँसी, एकादशी, सोह्रश्राद्ध, वैकुण्ठ चर्तुदशी, चर्तुदशी, चैते दशैँको नवदुर्गा (प्रतिपददेखि सप्तमीसम्म), अधिकमास परेको बेला, श्रावण महिनाभरि, हरितालिका तिज (तृतीया), कृष्ण जन्माष्टमी, विजयादशमी, भाइटिका, शिवरात्री, अधिकमास परेको पूरै महिना, बालाचतुर्दशी, रामनवमी, अक्षयतृतीयाबाहेकका तिथि र बारहरूमा श्रद्धालु भक्तजनहरूले आफ्‌नो भाकलअनुसार ल्याएका बोका, भाले, हाँस, राँगा र सुँगुरको बलि चढाइन्छ । साथै परेवा उडाउने र नरिवलले पूजा गर्ने चलन पनि दिन प्रतिदिन बढ्दो छ । 

पञ्चायतकालमा यस मन्दिरमा सतौँ वरपरका सात पञ्चायतवाट पञ्चबलि ल्याउने चलन थियो । चैते र वडा दशैँमा सरकारी तवरबाट मन्दिरमा पाठो बलि दिने प्रचलन छ । नित्य पूजा खर्च मन्दिरको कोषबाट नै गर्ने गरिएको छ । अन्य चौबिसे राज्यहरूमा गरिने देवी पूजामा जस्तै सतौँ चण्डी कालिका मन्दिरको पूजा पनि स्थानीय मगर जातका पुजारीले गर्ने परम्परा छ । किन प्राचीनकालदेखि मगर जातिका व्यक्तिले मात्रै देवीको पूजा गर्दै आएका छन्  भन्ने कुरा निकै रोचक छ । स्याङ्जामा प्रचलित लोकइतिहासअनुसार, राजा सूर्य खानले आफ्नी इष्टदेवी आलमदेवीलाई कुलदेवताको रूपमा स्थापना गरी स्याङ्जाको लसर्घामा चौपाट्टी झैँ निर्माण गरी भीमसेनपाते (धुर्रसेलीको) बिरुवा रोपेका थिए । ती आलमदेवीले भारतको चित्तौरगढका महाराजालाई भनेकी थिइन्, “मलाई जमिनमा नछुवाई उत्तरखण्ड नेपाल देशतिर लैजाऊ र राज्य गर ।” तदनुसार, देवी बोकेर हिँड्ने व्यक्तिलाई रिडिघाट पुगेपछि तिर्खा लागेछ र उनले बाटाको घरमा पानी मागेछन्  । त्यस घरमा रक्सी बनाउँदै रहेछन् र उनले तिर्खाले आत्तिएको हुँदा रक्सीको घ्याम्पामाथि राखेको तातो पानी पिएछन् । राति सपनामा आलमदेवी प्रकट भई आफ्नो असन्तुष्टी यसरी व्यक्त गरिछन् – “तातो पानी पिउने व्यक्तिले अबदेखि मलाई नछुनु तर पूजा गर्न नछोड्नु ।” ती जनै नलगाउने तातोपानी खाने भाइलाई मगर भनियो र पानी नखाने भाइलाई ठाकुर भनियो । कुलदेवीलाई लसर्घामा स्थापना गरी ब्राह्मणको वाक्य, ठकुरी कर्ता र मगर पुजारी भए (सुवेदी, २६) । यही परम्पराअनुसार, सतौँ चण्डी कालिकालगायत अन्य चौबिसे राज्यका शक्ति पीठहरूमा मगर जातिका व्यक्तिहरूले नै पूजा गर्ने परम्पराले निरन्तरता पाउँदै आएको छ । यस मन्दिरमा इन्द्रबहादुर रानाले नित्य पूजा र भक्तनजले ल्याएका मेडाहरूको बलि दिने जिम्मेबारी निर्वाह गर्दै आएका छन् । 

चण्डी कालिका मन्दिरको धार्मिक महत्त्व  :

चण्डी कालिका मन्दिर स्याङ्जा जिल्लाको शक्तिशाली पीठहरूमध्ये एक हो । गण्डकी प्रदेशलगायत नेपालका विभिन्न जिल्लाहरूबाट भक्तजनहरू सङ्कटमोचन वा भाकल पूरा भएको खुसियालीमा ठुलो सङ्ख्यामा देवीको दर्शन गर्न आउँछन् । प्राचीन मान्यताअनुसार यो मन्दिर नेपालको तान्त्रिक परम्परा र साधनाको प्रमुख केन्द्र मानिन्छ  । यहाँ तान्त्रिक विधिअनुसार केही विशेष दिनहरूबाहेक पूजा अर्चना र साधना गरिन्छ । मन्दिर हातामा प्रवेश गर्नेबित्तिकै रहस्यमय ऊर्जा र आध्यात्मिक शक्ति प्राप्तिको अनुभूति भएको कुरा मन्दिरमा भेटिएका भक्तजन र श्रद्धालुहरूले यस पङ्क्तिकारको जिज्ञासामा बताएका थिए । स्वयम् पङ्क्तिकारलाई पनि मन्दिरमा प्रवेश गर्नासाथ अनौठो आध्यात्मिक अनुभूति भएको थियो । 

मन्दिरको सांस्कृतिक महत्त्व  :

सतहुँ राज्य आस्था, विश्वास, सामाजिक एकताको सूचक र शक्ति साधनाको केन्द्र थियो । समकालीन समाजमा पनि यस संस्कृतिले निरन्तरता पाइ नै रहेको छ ।  चौबिसे राज्यकालदेखि नै चण्डीकालिका मन्दिर सबै जातजाति, भाषाभाषी र समुदायका मानिसहरूको साझा सांस्कृतिक केन्द्रको रूपमा स्थापित भएको छ । त्यसैले सबैको मनमुटुमा चण्डी कालिका देवीले बास गर्नुहुन्छ भन्ने भएको विश्वास गरिन्छ । मन्दिर परिसरमा विभिन्न चाडपर्वहरू जस्तै महाशिवरात्री, बालाचर्तुदशी, दशँैको अष्टमी र विशेष अवसरमा स्वःफूर्त रूपमा भक्तजनहरूको घुइँचो लाग्छ । देवीको आशीर्वादले सम्पूर्ण जनमा सुख, शान्ति, समृद्धि र आरोग्यता प्राप्त हुने अपेक्षा गरिन्छ ।

सतौँ चण्डीकालिका मन्दिर वरपरका भौतिक संरचनाको ऐतिहासिक महत्त्व  :

चौबिसे राज्यकालमा सतौँ चण्डी कालिका मन्दिर धार्मिक शक्तिपीठ मात्रै नभएर सामरिक र प्रशासनिक केन्द्र पनि थियो । यो  मन्दिर राज्यको भौतिक बल र सैन्य शक्तिको प्रतीक पनि मानिन्थ्यो । देवीप्रतिको अटुट विश्वासले राजा र सेनाहरूलाई साहस, आत्मविश्वास र शत्रुविरुद्ध लड्ने अदम्य शक्ति प्राप्त हुने विश्वास गरिन्थ्यो । यहाँ निर्माण गरिएका कोट (दुर्गा), रजस्थल (दरबार) र चण्डी मन्दिरहरूको त्रिकोणात्मक रणनीतिक सम्बन्ध छ । तान्त्रिक परम्परामा कोटलाई सैनिक किल्ला मात्र होइन सुरक्षा कवचका रूपमा पनि लिइन्छ । कोटमा नै लडाइँको रणनीति बनाउने, दुस्मनका गतिविधिहरू हेर्ने र आवश्यक परेमा आक्रमणकारीहरूलाई ढुङ्गा, धुलो, तीर, घुँयत्रो र गोली हान्ने मौका मिल्थ्यो । युद्धको समयमा जरुरी भएमा आम जनताहरूले कोटमा शरण लिई सुरक्षित रहन सक्दथे । ठुलो र मजबुत कोटलाई राजाको शक्ति, समृद्धि र सामर्थ्यको प्रतीक मानिन्थ्यो ।  मान्यताअनुसार, चण्डीदेवीको शक्तिले कोट, दरबार,  राजपरिवार र रैतीलाई अदृश्य रूपमा सुरक्षित रहन मद्दत पुग्दथ्यो । शत्रुको आक्रमणबाट बच्न सजिलो हुन्थ्यो । ‘रजस्थल’ भन्नाले राजाको स्थल वा दरबार रहेको स्थानलाई जनाउँछ । कोटको नजिक अवस्थित रजस्थलबाट राजनैतिक, प्रशासनिक, कूटनीतिक र न्यायिक सेवा प्रवाह हुन्थे । यहाँबाट नै राजाले शासन पनि चलाउने गर्दथे । राजाले नियुक्त गरेका अधिकारप्राप्त व्यक्ति जस्तैः काजी, भारदार, सैनिक अधिकारी, आदिले रजस्थलमा बसेर मुद्दा मामिला, झै–झगडा, अपराध निरूपण वा दण्ड जरिवाना सम्पादन गर्दथे । राजा स्वयम्‌ले सर्वोच्च कमान्डर, न्यायाधीश र धर्म गुरुको भूमिका निर्वाह गर्दथे । राजाहरूबाट अधिकार प्राप्त स्थानिय  मुखिया (तालुकदार) को सहयोगमा जनतासम्म सूचना सेवा पुर्‍याउँथे । अपराधको प्रकृतिअनुसार दण्ड जरिवाना तोकिन्थ्यो । सानो अपराध वा कसुर भएमा जरिवाना स्वरूप अर्थदण्ड, मध्यम अपराध भएमा कोर्रा हान्ने र सम्पत्ति जफत गर्ने एवम् गम्भीर अपराध (हत्या, राजद्रोह) गरेमा देश निकाला, कैद वा मृत्युदण्ड दिइन्थ्यो । गम्भीर प्रकृतिका मुद्दाको सुनुवाइ गर्दा दुवै पक्षलाई मन्दिरमा लगेर देवीको सामुन्ने सत्य बोल्न लगाइन्थ्यो । झुठो बोलेमा देवीको शक्तिले निज अभियुक्त र उनको परिवारमा अनिष्ठ हुने जनविश्वास हुन्थ्यो । यसैले चौबिसे साशनकालमा मानिसहरूले मन्दिरमा झुट बोल्ने आँट गर्दैनथे । अत : तत्कालीन समाजमा न्याय सम्पादन गर्दा देवी मन्दिरको विषेश भूमिका रहन्थ्यो । राजाले राज्य सञ्चालनका लागि आवश्यक पर्ने कोषको व्यवस्था गर्न स्थानीय कर, दान, उपहार, श्रम, दण्ड जरिवाना गुठीबाट उठेको रकम प्रयोग गर्दथे ।

दुर्लभ सिलिङ्गे रुखको चौबिसे राज्यहरूसँगको ऐतिहासिक साइनो :

सतौं चण्डी कालिका मन्दिर परिसरको वरपर देखिने सिलिङ्गेका रुखहरूको ऐतिहासिक महत्त्व छ । मन्दिर वरपर रोपिएका दुर्लभ सिलिङ्गेका रुखहरूले तत्कालीन चौबिसे राजाहरूको वंशगत पहिचान, इतिहास र मुलस्थानसँगको सम्बन्ध उजागर गर्दछन् । यस्तो गहन इतिहास र धार्मिक महत्त्व बोकेको मन्दिर सयौं बर्ष पुरानो सिलिङ्गे रुखको फेदमा स्थापना हुनु संयोग मात्र हुन सक्दैन । यी रूखहरूले मन्दिरको शान्त वातावरणलाई मनमोहक बनाउनुका साथै चौबिसे राज्यकालको जीवन्त सङ्ग्राहलयको अनुभूति गराउँदछन् । मध्यकालीन नेपालको चौबिसे राज्यकालमा राजा र रजौटाहरूले आफ्नो राज्यको राजधानी (कोट, मन्दिर, रजस्थल) वरिपरि सिलिङ्गेका रुखहरू रोप्ने गदर्थे । ऐच्छिक वा बाध्यात्मक कारणले आफ्नो राज्य छोडेर अर्को स्थानमा स्थानान्तरण हुँदा, राजा र भारदारहरूले सिलिङ्गेका बिरुवा साथमा लगेर स्थानान्तरण भएको ठाँउमा चिनो स्वरूप रोप्ने प्रचलन थियो ।

सिलिङ्गेका रुखहरूको चौबिसे राज्यको इतिहाससँग गहिरो सम्बन्ध छ । काश्यप गोत्रिय घिमिरे खड्का क्षत्री वंशका पूर्वजहरूले गोर्खाबाट विस्थापित हुँदा तनहुँको तनहुँसुर र पश्चिम ४ नम्बर नुवाकोट (स्याङ्जा) मा स्थानान्तरण हुँदा आफ्नो साथमा सिलिङ्गेको बिरुवा ल्याएर नुवाकोटको तल देउरालीमा रोपेका थिए । त्यही विशाल रुखको फेदमा स्थानीय फेदीखोला (सराङ्दी, खड्कागाउँ, विर्ता, चाउकेस्वाँरा, जोगीस्थान, फलदेबोट, कुखुरेखोला, फेदिखोला बजार, फेदिखोला फाँट) निवासी काश्यप गोत्रीय घिमिरे खड्का क्षत्री बन्धुहरूले सत्रौँ शताब्दीको दोस्रो दशकबाट देउरालीमा देवीको स्थापना गरेर पूजा गर्दै आएको तथ्य काश्यप गोत्रिय घिमिरे खड्का क्षत्री वंशको बृहत् बंशावलि ग्रन्थ मा उल्लेख छ (खड्का,२०८१; ४७)       

मन्दिर सुधारको पहलकदमी 

स्थापना कालदेखि विगत दुई वर्ष अगाडिसम्म स्थानीय मगर पुजारीहरूद्वारा नै यस मन्दिरको पूजा अर्चना हुँदै आएको थियो । परापूर्व कालदेखि मन्दिरको संरक्षण र स्याहार संहार गर्न स्थानीय जनसमुदायका अगुवाहरूबाट स्वस्फूर्त सहयोग प्राप्त हुँदै आएको छ । उहाँहरूले निरन्तर रूपमा पुर्‍याउनु भएकोे प्रत्यक्ष अप्रत्यक्ष योगदान स्तूत्य छ । मुलुकको बदलिँदो परिस्थिति र समयको मागअनुसार चण्डीकालिका मन्दिरको चुस्त व्यवथापन, प्रभावकारी सञ्चालन, भौतिक पूर्वाधारको स्तरोन्नति, पुनर्निर्माण, विधान निर्माण एवम् दर्ता र मन्दिरको ऐतिहासिक विरासतको अध्ययन अनुसन्धान गर्ने हेतु निम्न समितिले कार्य थालनी गरिसकेको तथ्य समितिका सचिव श्री हुमनाथ ढकालज्यूबाट फोनमार्फत २०८२ असोज ४ गते प्राप्त हुँदा निकै खुसी लाग्यो । आशा छ , चण्डीकालिका सेवा सु–व्यवस्था समिति र विधान निर्माण एवम् दर्ता समितिले सबै सम्बन्धित सरोकारवालाहरूको विश्वास आर्जन गर्दै सहकार्यको भावनाबाट युगले सुम्पेको ऐतिहासिक जिम्मोवारी पूरा गरी मन्दिरको गरिमालाई अझै उच्च बनाउन सफल हुनुहुने छ । 


चण्डी कालिका सेवा सुव्यवस्थापन समिति :

१. अध्यक्ष : श्री जितेन्द्रप्रकाश मल्ल, पदेन अध्यक्ष वडा नं. १४, पु.ब.न.पा., मो ९८४६०४३५००

२. सचिव : श्री हुमनाथ ढकाल, मो. ९७०२४७७७४९

३. कोषाध्यक्ष : श्री शेरबहादुर राना, मो. ९८४६०४५१६३

४. सदस्य : श्री भीमप्रसाद ढकाल, मो. ९८४६१६८६३५

५. सदस्य : श्री दुर्गाबहादुर शाह, मो. ९७०२४७७७४९

६. पदेन सदस्य : श्री जुद्धबहादुर राना, वडा अध्यक्ष वडा नं. १३, पु.ब.न.पा, मो. ९८४६०९४५६१

७. पदेन सदस्य : श्री मनोज पौडेल, वडा अध्यक्ष वडा नं. ११ पु.ब.न.पा, मो. ९८४६६५४६७४



विधान निर्माण तथा दर्ता समिति :

१.संयोजक : श्री दुर्गाबहादुर शाह, मो. ९७०२४७७७४९

२. सचिव : श्री हुमनाथ ढकाल, मो. ९७०२४७७७४९

३. सदस्य : श्री नारायणप्रसाद तिवारी, मो. ९८५६०५०३७३


पुजारीहरू :

१.श्री इन्द्रबहादुर राना, चण्डी कालिका मन्दिर, मो. ९८४६३६३३५१

२. सुबबहादुर थापा, सतौंकोट, मो.९८११५०३३६३  


सुझाव :

१. स्याङ्जा सदरमुकामबाट कोट र चण्डी मन्दिर जाने मोटर बाटोको स्तरोन्नति र कालोपत्रे जति सक्दो चाँडो सम्पन्न गर्ने । 

२. गुरुयोजना तयारी गरी मन्दिरको स्तरोन्नति, नवनिर्माणका कार्यहरू गर्न पहल गर्ने ।

३. कोट, रजस्थल र मन्दिरको इतिहासको खोजी, संस्थागत अभिलेखीकरण गर्ने र अनुसन्धनात्मक लेख, रचना आदि लेख्ने लेखक शोधकर्ताहरूलाई प्रोत्साहन गर्ने ।

४. हालकोे मन्दिरको मौलिकताको संरक्षण गर्दै वास्तुकला र ललितकला ढाँचाको नयाँ मन्दिर निर्माण गर्ने ।

५. मन्दिर, कोट र रजस्थलबारे जानकारी दिन मन्दिरमा सूचना पाटीको व्यवस्था गरी सूचना, लेख, रचना आदि टाँसेर सचेतना फैलाउने ।  

६. विभिन्न मिडिया र सामाजिक सञ्जालमार्फत मन्दिरको  प्रचार प्रसार गर्ने ।

७. वधशालालाई मन्दिर परिसरको बिचबाट हटाएर मन्दिर हाताको उपर्युक्त स्थानमा व्यवस्थित गर्ने ।

८. सुरुवाती कालदेखि हालसम्म मन्दिरको संरक्षण, प्रवर्धन विकासमा विशेष योगदान पुर्‍याउने र आर्थिक सहयोग गर्ने दाताहरूको नाम सिलालेखमा अभिलेखीकरण गर्ने ।

९. मन्दिरको निर्माण गरी बढी भन्दा बढी श्रद्धालु भक्तजनहरूसँग सम्पर्क बढाउने र महत्वपूर्ण ऐतिहासिका दस्ताबेजहरूलाई विद्युतीय मध्यमबाट सुरक्षित राख्ने व्यवस्था मिलाउने ।  

सन्दर्भ सामग्री :

१. डा. राजाराम सुवेदी, ‘स्याङ्जास्थित चौबिसी राज्यहरूको इतिहास’, राजाराम सुवेदी रचनावली (भाग १), काठमाडौँ : रत्न पुस्तक भण्डार, २०६३ ।

२. प्रा.डा. बालकृष्ण पोखरेल, ‘खस जातिको इतिहास’, विराटनगर : उदात्त अनुसन्धान अड्डी, २०५५ ।

३. योगी नरहरिनाथ, ‘इतिहास प्रकाश’, काठमाडौँ : इतिहास प्रकाशन मण्डल, २०१२ । 

४. डा. गितु गिरी, ‘प्युठानको ऐतिहासिक झलक’, प्युठान जिल्ला विकास समिति, प्युठान, २०५२ ।

५. शोभित खड्का क्षत्री (ग्रन्थकार), ‘काश्यप गोत्रीय घिमिरे खड्का क्षत्री बृहत् वंशावली ग्रन्थ’, काश्यप गोत्रीय 

घिमिरे खड्का क्षत्री समाज नेपाल : पोखरा, २०८१ ।

६. परिक्रमा भिडियो रिपोर्ट youtube.parikarma/parikarmavlog


प्रत्यक्ष/फोनमार्फत सम्पर्क :

१. प्रा.डा. ज्ञानबहादुर कार्की, पूर्व सहायक क्याम्पस प्रमुख तथा इतिहास विभाग प्रमुख, पृथ्वीनारायण बहुमुखी क्याम्पस, पोखरा, सम्पर्क २०८२/०५/२५, मो. ९८५६०७९७८२

२. प्रा. डा. शिशिर गोखले, प्राचार्य , मनिपाल कलेज अफ मेडिकल साइन्सेस पोखरा, सम्पर्क  २०८२/०६/०५, मो. ९८०२४०४००५

३. प्रा.डा. कृष्ण प्रसाद कोइराला , प्रोपराइटर ENT CARE CENTER नयाँ बजार पोखरा-८, सम्पर्क : २०८२/०६/०७, मो. ९८५६०३४३४७

४. प्रा. डा. कृष्ण के.सी. , पूर्व भूगोल विभाग प्रमुख पृथ्वीनाराण बहुमुखी क्याम्पस, पोखरा, सम्पर्क २०८२/०६/०९, मो.९८४६२९२०६६

५. डोलराज अर्याल, सल्लाहकार नेपाली भाषा शिक्षक परिषद्, कास्की, नेपाल (अर्जुन चौपारी —१ स्याङ्जा) सम्पर्क २०८२/०६/०६, मो. ९८५६०२९८१८

६. बद्रीनाथ रोकाहा, पूर्व उप–कार्यकारी निर्देशक नेपाल विद्युत् प्राधिकरण हाल गहते अर्जुन चौपारी–१, सम्पर्क २०८२/०६/०८, मो. ९८५११०९८०६

७. पोत प्रसाद अर्याल, पूर्व - उप रजिस्ट्रार , जिल्ला अदालत  कास्की , सम्पर्क : २०८२/०६/०५ मो. ९८४८०२३५३३

८. घनश्याम रिजाल, पूर्व प्रधानअध्यापक, भद्रकाली उच्च मा.वि. कुँडहर, पोखरा, सम्पर्क २०८२/०६/०६, मो. ९८४६०३७७३३

९. गुरुप्रसाद ढकाल, पूर्व अध्यक्ष, रजस्थल मा.वि. सतौँ समाजसेवी एवम् बौद्धिक व्यक्तित्व सम्पर्क २०८२/०६/०१, मो. ९८४६०४३७३२

१०. हुमनाथ ढकाल, सचिव चण्डीकालिका सेवा सुव्यवस्थापन समिति एवम् पूर्व शिक्षक रजस्थल मा.वि. सतौँ, सम्पर्क २०८२/०६/०१, मो. ९८५६०५०६७७

११. जुद्धबहादुर राना, वडा अध्यक्ष वडा नं. १३,पु.ब.न.पा, सम्पर्क २०८२/०६/०६, मो. ९८४६०९४५६१

१२. थमन राना, रजस्थल उच्च मा.वि. सतौँ, सम्पर्क २०८२/०६/०६, मो. ९८४६०६०९१३

१३. रामबहादुर थापा, समाजसेवी एवम् बौद्धिक व्यक्तित्व/सभापति पूर्व जि.वि.स, स्याङ्जा, सम्पर्क २०८२/०६/०६, मो.९८४७०३९१८६

१४. बालचन्द्र थापा, समाजसेवी एवम् बौद्धिक व्यक्तित्व/पूर्व शिक्षक मातृभूमि मा.वि., चारखुट्टे, सम्पर्क २०८२/०६/०७, मो. ९८४६०७०७३२

१५. धुव्रराज अधिकारी, समाजसेवी एवम् बौद्धिक व्यक्तित्व/पूर्व शिक्षक मातृभूमि उच्च मा.वि., चारखुट्टे, सम्पर्क २०८२/०६/०८, मो. ९८४६०३९४१८

१६. नारायण अधिकारी, समाजसेवी एवम् बौद्धिक व्यक्तित्व/निवर्तमान वडा अध्यक्ष, वडा नं १३, पु.ब.न.पा , सम्पर्क २०८२/०६/०७, मो ९८५६०५०७९९

१७. प्रकाश पौडेल, अध्यक्ष, रजस्थल मा.वि. सतौं एवम् समाजसेवी सम्पर्क मो. ९८२६३६६२१६

१८. शिव प्रसाद अर्याल, पूर्व शिक्षक, अर्जुन चौपारी १, सम्पर्क २०८२/०६/०८, मो. ९८४६०९६८४४

१९. टुकराज अर्याल, समाजसेवी एवम् बौद्धिक व्यक्तित्व/निवर्तमान अध्यक्ष स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति, हाल अर्जुन चौपारी १, सम्पर्क २०८२/०६/०५, मो. ९८४६२०३२८५

२०. दोबबहादुर कार्की, समाजसेवी एवम् राजनितिक व्यक्तित्व, पु.ब.न.पा १३, हाल हवेली मार्ग पोखरा १४, सम्पर्क २०८२/०६/०९, मा. ९८५६०३२११४

२१. डि.आर. काफ्ले, सम्पादक ब्राइटर मिडिया प्रा.लि. स्याङ्जा/समाजसेवी व्यक्तित्व, अर्जुनचौपारी ३, सम्पर्क २०८२/०६/०९, मो.  ९८४६५६९७४१

२२. टेकबहादुर के.सी. सेवानिवृत्त राष्ट्रसेवक, सातौ,ं सम्पर्क २०८२/०६/०६, मो.९८४६०४३६७७

२३. निरञ्जन थापा, विशिष्ट सदस्य नेपाल रेडक्रस सोसाईटी, लामाचौर,पोखरा–१९, कास्की सम्पर्क २०८२/०६/०६, मो.९८४६०६००१६

२४. कृष्ण प्रसाद सिग्देल, सहासचिव– सामीप्य समाज नेपाल, सम्पर्क २०८२/०६/०६, मो. ९८५६०५०४६२

२५. बिमला न्यौपाने, मनिपाल कलेज अफ मेडिकल साइन्सेस, दिप, पोखरा, २०८२/०६/०६, मो. ९८४६५५१४३५

२६. ईश्वर श्रेष्ठ, श्रेष्ठ कम्प्युटर सर्भिस, पोखरा–३, नदीपुर, २०८२/०६/०९, मो. ९८५६०२५५०३


यस अनुसन्धानात्मक लेखको भाषा सम्पादन गरी मलाई गुन लगाउनुहुने बौद्धिक व्यक्तित्व श्री डोलराज अर्यालज्यू प्रति बिशेष आभार प्रकट गर्दछु । उहाँले नेपाली साहित्य, शोध र अनुसन्धानको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनु भएको छ । 


Top Post Ad

post bottom ads

Ads Bottom