कपिलवस्तु, असोज १८। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ वनकसवासामा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्।
धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको ना.८ ख ५७०३ नम्बरको बस शुक्रबार बिहान करिब ६ बजे दुर्घटनाग्रस्त भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा एक महिलाको मृत्यु भए पनि उनको परिचय खुल्न सकेको छैन। प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहका अनुसार घाइतेहरुमध्ये ४ जनाको अवस्था गम्भीर छ भने अन्य १५ जनालाई मध्यम चोट लागेको छ।
गम्भीर र मध्यम घाइतेहरुलाई प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ। अन्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको भए पनि यात्रुहरूका अनुसार चालक निदाएको कारण बस दुर्घटना भएको हुनसक्छ।





