पोखरा, असोज २० गते ।
भदौ २३ र २४ गते देशभर भएका ‘जेन जी’ आन्दोलनका क्रममा कास्की जिल्ला कारागार कार्यालयबाट फरार भएका कैदीबन्दीहरूलाई आज बेलुकीसम्म कारागारमा फर्किन पुनः आग्रह गरिएको छ।
कारागार कार्यालय कास्कीले यसअघि मिति २०८२ असोज १२ गते सूचना प्रकाशित गरी फरार कैदीबन्दीहरूलाई असोज २० गतेभित्र कारागारमा हाजिर हुन निर्देशन दिएको थियो। तर, सो अवधिसम्म पनि केही कैदीबन्दीहरू नफर्किएकाले कारागार प्रशासनले पुनः सूचना जारी गर्दै आज बेलुकीसम्म अनिवार्य रूपमा आत्मसमर्पण गर्न आग्रह गरेको हो।
कारागार प्रशासनले भनेको छ — “निर्धारित म्यादभित्र कारागारमा नफर्किएमा कारागार ऐन २०७९ तथा अन्य प्रचलित कानुनअनुसार कडा कारबाही गरिनेछ।”
साथै, फरार कैदीबन्दीहरूलाई लुकाउने, आश्रय दिने वा सहयोग गर्ने व्यक्तिहरूलाई समेत कानुन बमोजिम कसुरदार ठहर गरी कारबाही गरिने चेतावनी दिइएको छ।
कारागारले फरार कैदीबन्दी सम्बन्धी कुनै पनि सूचना वा जानकारी उपलब्ध गराउन सवै नागरिकलाई अनुरोध गर्दै आवश्यक जानकारी निम्न सम्पर्क नम्बरमा दिन आग्रह गरेको छ।





