दाङमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–५ लमही बजारस्थित प्रतिष्ठा पेट्रोल पम्प नजिकै बिहीबार दिउँसो करिब १ बजेतिर बसको ठक्करबाट राप्ती गाउँपालिका–५ सिंगेखोला निवासी करिब ६५ वर्षीय रामप्रसाद भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि तत्काल लमही अस्पताल पुर्याइएको थियो। तर, उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी चक्रबहादुर शाहले जानकारी दिनुभयो।
दुर्घटनापछि बस र चालक दुवै फरार रहेका छन्। बस र चालकको पहिचान खुल्न बाँकी रहेको र प्रहरीले तीव्र खोजी कार्य सुरु गरेको जनाएको छ।
प्रहरीका अनुसार घटना स्थलको नजिकैको सिसिटिभी फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा बसको नम्बर र चालकको पहिचान खुलाउने प्रयास भइरहेको छ।




