Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आज देशभर भाइटीका – दिदीबहिनीले दाजुभाइलाई दीर्घायु र ऐश्वर्यको कामना गर्दै लगाइँदैछ सप्तरङ्गी टीका


कात्तिक ६ गते ।

यमपञ्चकका मुख्य दिनमध्येको एक भाइटीका आज देशभर उत्साहपूर्वक मनाइँदैछ। दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, स्नेह र दीर्घायुको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिई, माला र मिठाइसहित आशीर्वाद दिँदै मनाइने यो पर्व नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य आकर्षण हो।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, यस वर्ष तिथि वृद्धि भएकाले भाइटीका तिहारको छैटौँ दिन परेको हो। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार, साइतमै टीका लगाउनेका लागि बिहान ११ः३९ बजेको अभिजित् मुहूर्त उत्तम रहेको छ।

शास्त्रीय मान्यताअनुसार, आज दिदीबहिनीहरूले पूर्वतर्फ फर्केर टीका लगाउने र दाजुभाइहरूले पश्चिमतर्फ फर्केर टीका ग्रहण गर्ने चलन छ। यसो गर्दा चन्द्रमा तुला राशिमा रही शुभ कर्मका लागि अनुकूल हुने विश्वास गरिएको छ।

धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार, टीकाको रङ्ग रातो, सेतो, पहेंलो, हरियो र निलो गरी पाँचवटा हुनुपर्ने धार्मिक मान्यता छ। दिदीबहिनीहरूले टीका लगाइदिएपछि दाजुभाइले पनि प्रत्युत्तरस्वरूप टीका लगाइदिन्छन्। त्यसपछि ओखर, कटुस, मसला, सेलरोटी, मिठाइ आदानप्रदान गर्ने र दाजुभाइले दिदीबहिनीलाई कपडा, दक्षिणा र उपहार दिने परम्परा रहिआएको छ।

यस अवसरमा दिदीबहिनी वा दाजुभाइ नहुनेका लागि पनि विशेष व्यवस्था गरिएको छ।
काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज एक दिनका लागि खुला गरिँदैछ। दिदीबहिनी वा दाजुभाइ नभएकाहरूले यहाँ गएर टीका लगाउने र पूजाआराधना गर्ने प्रचलन छ।

त्यस्तै, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजाआराधना गर्ने गर्दछन्।

भक्तपुरका नेवार समुदायले यस पर्वलाई किजापूजाका रूपमा मनाउँछन्। केहीले भने बुधबार नै तलेजु मन्दिरका पुजारीको निर्णयअनुसार टीका कार्यक्रम सम्पन्न गरेको भक्तपुर नगरपालिका जनाएको छ।

भाइटीका केवल दाजुभाइ र दिदीबहिनीबीचको स्नेहको प्रतीक मात्र नभई, पारिवारिक सम्बन्ध सुदृढ पार्ने र सौहार्द बढाउने संस्कारको पर्व पनि हो।

Top Post Ad

post bottom ads

Ads Bottom