मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा विद्युत सर्ट भएर लागेको आगलागीबाट एक परिवारको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
स्थानीय सोमलाल गोलेको ढुङ्गा-माटो र ढुङ्गाको पाताले छाएको दुई तले कच्ची घरमा मङ्गलवार दिउँसो विद्युत सर्ट भएर आगलागी भएको हो।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार, आगलागीबाट घर पूर्ण रूपमा जलेको र करिब तेह्र लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। क्षतिको विवरण अनुसार घरभित्र रहेका नगद दुई लाख रुपैयाँ, अन्नपात, दुई तोला सुन, चार तोला चाँदी, भाँडाकुँडा, लत्ता कपडा, खाट, टेबल, कुर्सी, टेलिभिजन, मिटर बक्स, कागजात लगायत सबै सामग्री जलेर नष्ट भएका हुन्।
आगो स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा ल्याइएको प्रहरी चौकी खानिखेत, मकवानपुरले जानकारी दिएको छ।




