काठमाडौँ, असोज १९। शनिबार र आइतबार दुई दिन लगातार परेको अविरल वर्षाले देशभर ३९ जनाको ज्यान लिएको छ। सशस्त्र प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार ११ जना बेपत्ता र १३ जना घाइते भएका छन्।
सबैभन्दा धेरै जनहानि कोशी प्रदेशमा भएको छ — जहाँ ३६ जनाको मृत्यु भएको छ। त्यसमध्ये इलाममा मात्र २७ जनाको ज्यान गएको छ भने ५ जना बेपत्ता छन्।
त्यस्तै उदयपुरमा २ जनाको मृत्यु र १ जना घाइते, खोटाङमा १ जनाको मृत्यु र ३ जना घाइते, र पाँचथरमा ६ जनाको मृत्यु र ६ जना घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ।
मधेश प्रदेशमा पनि वर्षाको असर परेको छ। रौतहटमा ३ जनाको मृत्यु भएको छ भने बारामा १ जना बेपत्ता भएका छन्।
त्यस्तै बागमती प्रदेशको रसुवामा ४ जना बेपत्ता, काठमाडौंमा १ जना बेपत्ता, र मकवानपुरमा १ जना घाइते भएका छन्।
देशका अधिकांश स्थानमा अझै वर्षा जारी रहेकाले बाढी, पहिरो र डुबानको जोखिम कायमै रहेको जनाइएको छ।
स्थानीय प्रशासन र विपद् व्यवस्थापन निकायहरूले उच्च सतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।





