सप्तरी, असोज १९। लगातारको वर्षापछि त्रियुगा नदीमा आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–६ बोचहीका करिब ६० घरपरिवार डुबानमा परेका छन्।
बाढी तटबन्धमाथिबाट बग्दै बस्तीमा पसेपछि ठूलो क्षति भएको बताइएको छ। तीमध्ये अति प्रभावित ६ घरपरिवारलाई उद्धार गरी स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो।
उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली परिचालन गरिएको प्रजिअ पोखरेलले बताउनुभयो।
उहाँका अनुसार लगातार दुई दिनदेखिको अविरल वर्षाका कारण त्रियुगा नदीको जलस्तर असामान्य रूपमा बढेपछि बाढी तटबन्धमाथिबाट बग्दै बोचही बस्तीमा पस्न पुगेको हो।
जिल्लाभर वर्षाका कारण अन्य स्थानहरूमा पनि क्षति पुगेको आशंका गरिएको छ। वास्तविक क्षति विवरण संकलन गर्न सुरक्षा निकायका दुई छुट्टाछुट्टै टोली खटाइएका छन्।




