असोज २१ गते ।
पूर्वी मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेमा मङ्गलबार बिहान विद्युतीय गाडी (इभी) र मोटरसाइकल आपसमा ठोक्किँदा १४ जना घाइते भएका छन्।
सिन्धुलीको भिमानबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्रदेश ००२÷००१ ज ००७२ नम्बरको इभी गाडी र ना ५२ प ५५९८ नम्बरको मोटरसाइकल बीच ठक्कर भएको हो। दुर्घटनामा मोटरसाइकल चालकसहित इभीका १३ यात्रु घाइते भएको स्थानीय विवेक सिङ्तानले जानकारी दिनुभयो।
घाइतेहरूलाई बागमतीस्थित सान्बी मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुलेको छैन। घटनास्थलमा प्रहरी टोली पुगेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घाइतेहरूको परिचय भने हालसम्म सार्वजनिक भएको छैन।


.png)


