सल्यानको शारदा नगरपालिका–८ ज्वालापुरमा सोमबार जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। खलङ्गाबाट सुनचौरतर्फ जाँदै गरेको लुप्र ०२–००१ च ०१८६ नम्बरको डबलक्याप जिप अनियन्त्रित भई करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
प्रहरी निरीक्षक रेशम खत्रीका अनुसार घाइते हुनेमध्ये चालक २७ वर्षीय सुरेन्द्र कंवरको अवस्था गम्भीर रहेको छ। अन्य घाइतेहरूमा ७२ वर्षीया भोटीकुमारी बुढाथोकी, १७ वर्षीय कुलबहादुर बुढा, ७१ वर्षीय लालबहादुर भण्डारी, २१ वर्षीया मञ्जरी राना र उनकी पाँच महिनाकी छोरी एलिशा, साथै २६ वर्षीय सुशील कंवर र ४८ वर्षीय भूपबहादुर बिक रहेका छन्।
घाइतेहरूको जिल्ला अस्पताल सल्यान र श्रीनगरस्थित कर्णाली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटना दिउँसो साढे १ बजे तिर भएको र घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिनुभयो।


.png)

