Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

देशभर झण्डै पाँच हजार ७०० कैदी अझै फरार


असोज २१ गते ।

जेनजी प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार र सुधारगृहबाट भागेका मध्ये अझै ५ हजार ६९७ कैदीबन्दी फरार रहेको पाइएको छ ।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मुलुकभरका २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी९ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी, गरी १४ हजार ५५३ जना फरार भएका थिए।

तीमध्ये हालसम्म ८ हजार ५१० कैदी३४१ बालबन्दी गरी ८ हजार ८५१ बन्दी कारागार फर्किएका छन्। बाँकी ५ हजार ७९ कैदी र ६१८ बालबन्दी अझै फरार रहेको विभागले जनाएको छ।

गृह मन्त्रालयले असोज १० गतेकै सूचनामार्फत फरार कैदीबन्दीलाई असोज २० गतेभित्र कारागार फर्कन ‘अल्टिमेटम’ दिएको थियो। तर, तोकिएको म्यादसम्म पनि धेरै कैदी नफर्किएपछि सरकारले विशेष खोज तथा नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ।

फरार कैदीबन्दीलाई खोजी, नियन्त्रण र कारागारमा फिर्ता ल्याउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ, जसमा सुरक्षा निकायका प्रतिनिधिहरू समेत रहेका छन्।

प्रदर्शनका क्रममा झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नख्खु, जगन्नाथदेवल, डिल्लीबजार, मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, तुलसीपुर, नौवस्ता, रुकुम पश्चिम, नवलपरासी, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर कारागारबाट कैदीबन्दी भागेका थिए।

त्यस्तै, मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयण्डु, नौवस्ता र डोटी बालसुधारगृहबाट ९६३ बालबन्दी फरार भएका थिए।

सुरक्षा घेरा तोड्ने क्रममा रामेछापमा ३ र धादिङमा २ कैदीको गोली लागेर मृत्यु, साथै नौवस्ता बालसुधारगृहमा झडप हुँदा ५ बालबन्दीको मृत्यु भएको पनि पुष्टि भएको छ।

सरकारले कारागारबाट फरार कैदीबन्दीलाई अविलम्ब फर्की आउन पुनः सूचित गरेको छ। तोकिएको समयभित्र नफर्किए कानूनी कारबाही हुने चेतावनी दिइएको छ।

हाल देशभरका ७२ जिल्लामा रहेका ७५ वटा कारागारमा ३० हजार ६४६ कैदीबन्दी रहेका छन्। धनुषा, बारा, भक्तपुर, नवलपरासी (पूर्व) र पूर्वी रुकुममा भने कारागार छैन।

Top Post Ad

post bottom ads

Ads Bottom