कैलाली, कात्तिक १० गते । कैलालीको जोशीपुर गाउँपालिका–३ लकडमा श्रीमानको हत्या प्रकरणमा एक महिला पक्राउ परेकी छन् । शनिबार राति घरायसी विवादका क्रममा ३५ वर्षीया सुनितादेवी कठरियाले आफ्ना ५० वर्षीय श्रीमान लखनलाल कठरियामाथि हतौडाले प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक खगेन्द्रबहादुर साउँदका अनुसार सामान्य भनिएको विवादपछि आवेगमा आएकी सुनिताले श्रीमानको टाउकोमा हतौडा प्रहार गरेकी थिइन् । गम्भीर घाइते लखनलाललाई तत्काल उद्धार गरी उपचारका लागि टीकापुर अस्पताल पुर्याइएको थियो तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार घटनामा प्रयोग गरिएको हतौडा बरामद गरिएको छ । हत्या आरोपमा पक्राउ परेकी सुनितालाई नियन्त्रणमा लिएर आइतबारदेखि थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक साउँदले जानकारी दिनुभयो ।





