काठमाडौँ, असोज २३ गते । पोखराको चर्चित लिचीबारी जग्गा नामसारी प्रकरणमा घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बुधबार विशेष अदालत काठमाडौँमा दायर गरेको मुद्दामा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठलाई मुख्य प्रतिवादी बनाइएको छ ।
आयोगका अनुसार, मन्त्री गुप्ताले घरजग्गा व्यवसायी सुजनकुमार तामाङसँग ५३ लाख रुपैयाँको घुस डिल गरेका थिए भने मन्त्री श्रेष्ठले उक्त डिलमा मध्यस्थकर्ताको भूमिका खेलेकी थिइन् ।
कसरी भयो लिचीबारी जग्गा विवाद ?
कास्की जिल्लाको पोखरा–१६ (साविक बाटुलेचौर–१) मा रहेको “दीप विर्ता (लिची बगैँचा)” को जग्गा (नक्सा नं २५, २६, २८) अदालतको फैसलाअनुसार दुर्गादेवी शाहका नाममा नामसारी हुने निर्णय भएको थियो । सो निर्णय कार्यान्वयनका लागि दुर्गादेवीका हकवाला सुरज शाह ठकुरीले मालपोत कार्यालय कास्कीमा निवेदन दिएका थिए, तर तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीले अस्वाभाविक विलम्ब गराएको आयोगको भनाइ छ ।
विलम्बपछि ठकुरी घरजग्गा व्यवसायी सुजनकुमार तामाङको सम्पर्कमा पुगेका थिए । तामाङले अन्य प्रतिवादी यामकुमारी गुरुङ र तुल्सीराम बुढामगरसँग मिलेमतो गरी जग्गा नामसारी गराउने सर्तमा ४० प्रतिशत जग्गा आफूसमेत लिने गरी २०८१ जेठ २० गते कागज तयार पारेका थिए ।
घुस डिल र सरुवा रोक्ने दबाब
आयोगले दायर गरेको आरोपपत्रअनुसार:
-
मन्त्री गुप्ता र श्रेष्ठविरुद्ध ७८ लाख रुपैयाँ,
-
तत्कालीन मालपोत प्रमुख रामचन्द्र अधिकारीविरुद्ध ५३ लाख,
-
घरजग्गा व्यवसायी सुजनकुमार तामाङ, यामकुमारी गुरुङ, तुल्सीराम बुढामगरविरुद्ध ७८ लाख,
-
खमबहादुर पुनविरुद्ध २५ लाख रुपैयाँको बिगो तथा सजाय माग गरिएको छ ।
घुस प्रकरण सार्वजनिक भएपछि मन्त्री गुप्ताले गत असार ३१ गते राजीनामा दिएका थिए ।
आयोगले यससँगै तत्कालीन भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र तत्कालीन सचिव अर्जुनप्रसाद पोखरेलले ३२ लाख रुपैयाँ, ग्लेनफिडिच रक्सी र दुई वटा वन कुखुरासहित ५ लाख १० हजारको रिसवत लिएको आरोपमा छुट्टै मिसिल खडा गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ ।




