असोज २३ गते, जुम्ला । जुम्लाको हिमा गाउँपालिका–१ आचार्यवाडामा एक युवक गाडीभित्र मृत फेला परेका छन् । बुधबार साँझ करिब ८ः३० बजे मुगुबाट सुर्खेततर्फ जाँदै गरेको एसएलएम गाडी (क.प्र. ०२–००१ ख ११८०) को कोलियामा ती युवक मृत अवस्थामा भेटिएका हुन् ।
मृतक २२ वर्षीय गणेश रावत हिमा गाउँपालिका–१ आचार्यवाडाका स्थानीय रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन बाबु रेग्मीले जानकारी दिनुभयो ।
मृतकको शवलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पोस्टमार्टमका लागि पठाइएको छ । घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




