Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

काठमाडौंबाट हराएको पिकअप पाँचथरमा दुर्घटना, एक जनाको मृत्यु

 


असोज ३० गते । असोज २४ गते काठमाडौंबाट हराएको पिकअप गाडी पाँचथरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिनुभयो ।

बा ७ च ५४४९ नम्बरको उक्त पिकअप गाडी सिन्धुपालचोक निवासी सुरेश श्रेष्ठको नाममा दर्ता गरिएको थियो । श्रेष्ठ असोज २५ गते कीर्तिपुरमा मृत अवस्थामा भेटिएका थिए । गाडी हराएपछि देशभर खोजीका लागि प्रहरीले सर्कुलर जारी गरेको थियो ।

प्रहरीका अनुसार, असोज २९ गते साँझ फिदिम आइपुगेको उक्त गाडी सडकमा सवारी जाँचका क्रममा प्रहरी देख्नेबित्तिकै ताप्लेजुङतर्फ भागेको थियो । केही समयपछि गाडी पाँचथरको हिलिहाङ–७ आम्बेजानीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

दुर्घटनास्थलमा ताप्लेजुङ फुङलिङ–९ निवासी लाक्पा नुर्वु शेर्पाको सवारी चालक अनुमति पत्र फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलको मुचुल्का बनाउँदा गाडीभित्र बा ७ च ५४४९ नम्बर प्लेट र ब्लुबुक समेत फेला परेपछि यो गाडी सुरेश श्रेष्ठकै भएको पुष्टि भएको हो ।

दुर्घटनामा मृत्यु भएका व्यक्तिको शवलाई प्रहरीले पोष्टमार्टमका लागि पाँचथर अस्पताल पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom