![]() |
| तस्बिर : गोरखापत्रबाट |
इलाम, मङ्सिर ८ गते । एउटै आमाबाट २८ सन्तानको जन्म भएको सुन्दा अनौठो लाग्छ अचेल । पछिल्लो पुस्तालाई त झनै बुढापाकाले सुनाउने दन्तेकथा जस्तो तर यो इलाम नगरपालिका–६ मा बस्दै आउनुभएकी ८३ वर्षीया बच्छीमाया कठेतको जीवनको वास्तविकता हो ।
१५ वर्षको उमेरदेखि कोख रित्तो नभएकी बच्छीमायाले बर्सेनि लगातार २८ सन्तानलाई जन्म दिनुभयो । औसत एक वर्ष १४ दिनमा सुत्केरी हुनुभएकी उहाँले ४७ वर्ष उमेरसम्म सन्तान जन्माउनुभयो र ऊ जमानामा दसैँमा दिइने ‘सन्तानले डाँडाकाँडा ढाकून्’ आशीष लागे जस्तो सन्तान देशपरदेशमा फैलिएका छन् । १४ छोरा र १४ छोरीलाई जन्म दिएकी बच्छीमाया केही महिनायता कान्छा छोराको घरमा हुनुहुन्छ ।
चिकित्सा विज्ञानमा लगातार ४७ वर्ष उमेरसम्म बच्चा जन्माउन सम्भव छ ? भन्ने प्रश्नमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्राडा. जागेश्वर गौतमले जुम्ल्याहा, तिम्ल्याहा सन्तानका रूपमा २८ वटा बच्चा जन्माउन सम्भव हुने बताउनुभयो । प्राडा. गौतमले अफ्रिकामा एक महिलाले ३८ वटासम्म बच्चा जन्माएर विश्वको रेकर्ड तोडेको जानकारी दिदै २८ वटा बच्चा जन्माउन सम्भव हुने जानकारी गराउनुभयो ।
अफ्रिकी मुलुक युगान्डामा मरियम नबातान्जी नामकी महिलाले ३८ वटा सम्म बच्चा जन्माएको उल्लेख गर्दै उहाँले ती महिलाले १३ वर्षको उमेरमै पहिलो बच्चा जन्माएको बताउनुभयो ।
पाँचथरको रानीटार तमाखे स्थायी निवासी बच्छीमाया र उहाँका ९३ वर्षीय पति धनप्रसाद वृद्ध हुँदै जाँदा केही वर्षअघि झापातिर झर्नुभएको थियो । झापा अधिक गर्मी हुन थालेपछि इलामस्थित कान्छा छोरासँग बस्दै आउनुभएको छ । अहिले पनि उहाँ राम्रैसँग हिँडडुल गर्दै हुनुहुन्छ । बच्छीमाया र धनप्रसाद अहिले पनि हाँसी हाँसी आफ्नो विगत सुनाउनुहुन्छ ।
बच्छीमाया विगत स्मरण गर्नुहुन्छ, “कोही सन्तान घाँस काट्न जाँदा जन्मिए, कोही दाउरा बोकेर आउँदै गर्दा जन्मिए, औषधी उपचारको त कुरै थिएन । कुनै दिन पनि डाक्टरसँग जँचाइएन । खोइ एकै दिन कोख खाली भएन, मेरो जीवन त मान्छेकै हो
कि जस्तो पनि लाग्छ ।’’ १५ वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएकी बच्छीमायाले २०४६ सालमा अन्तिम सन्तानलाई जन्म दिएको स्मरण गर्नुहुन्छ । जीवित जन्मिएका २८ सन्तानमध्ये १४ जनाको सानै उमेरमा विभिन्न रोगका कारण ज्यान गएको दुःखेसो उहाँको छ । बाँकी रहेका १४ जना छोराछोरीमध्ये पनि तीन महिनाअघि मात्र काँइली छोरी पनि गुमाउनुप¥यो । धनप्रसाद भन्नुहुन्छ, “बाँकी छोराछोरीले भने राम्रै गरिखाइरहेका छन् । कोही विदेशमा छन्, कोही झापातिर छन्, कोही रानीटारमै छन् । कान्छो चाहिँ इलाममा छ ।” बच्छीमायाले भन्नुभयो, “छोराछोरी साना हुँदा र बर्सेनि कोखमा आइरहँदा, गाउँघरमा कसैले राम्रो भनेनन् । रोक्ने उपाय पनि हुँदैन थियो । रोग लाग्दा उपचारको सुविधा थिएन । जति सन्तान भए पनि पीडा सहनु र हात थाप्नुको विकल्प थिएन । अहिलेका छोराछोरी बुहारीलाई त स्वर्ग छ नि !”
बर्सेनि सन्तान भए पनि पति धनप्रसादले भने खासै सहयोग नगरेको बच्छीमाया स्मरण गर्नुहुन्छ । अहिले सँगै रमाइरहेका यी दम्पती देख्दा र कुरा सुन्दा रमाइलो लागे पनि बच्छीमायाको पीडा भने निकै फरक लाग्छ । वडा सदस्य हुनुभएका धनप्रसाद सधैँ घोडा लिएर गाउँसमाजमा हिँडिरहने, बेलामा घर नफर्कने, छोराछोरीको हेरचाहमा खासै समय नदिने बानी सम्झिँदा अहिले पनि बच्छीमायाका आँखा रसाउँछन् । सबै सन्तानलाई हेरचाह, नुवाइधुवाई, खानपान सेकतापलगायत घरको घाँसदाउरा पनि गर्नुपर्ने बाध्यताले बच्छीमायालाई कहिले पनि आराम दिएन ।
अहिले उच्च रक्तचाप, मधुमेह र घाँटीको समस्याबाट उहाँ ग्रस्त हुनुहुन्छ । बच्छीमायालाई विदेश हेर्ने रहर भने मरेको छैन । पोर्चुगलमा रहेका अन्तरे छोरा र छोरीले उता लान खोजे पनि रोगकै कारण जान नसकेको उहाँले सुनाउनुभयो । बच्छीमायाले भन्नुभयो, “पहिला दुःखमै दिन बिते, अहिले छोराछोरी हुर्किएपछि आफू खुला त भइयो नि तर रोग र उमेरले खुसीमा रमाउन दिएन ।”’ बच्छीमायाले भन्नुभयो, “एकपल्ट विदेश हेर्ने मन थियो, रोगी भएकाले जान सकिएन ।”
पाँच महिनाकी हुँदै बाबु गुमाएकी बच्छीमायालाई आमाले अर्को केटासँग बिहे गरी उतै लगेर हुर्काएको र उनै सौतेनी बाबुकै घरबाट ११ वर्षको उमेरमा धनप्रसादसँग बिहे भएको बताउनुभयो ।
बच्छीमायासँगै माया साटासाट गरिरहनुभएका धनप्रसाद पनि आफ्नो विगत उसरी नै सम्झनुहुन्छ । उहाँ भन्नुहुन्छ, “उहिले गाउँका मुद्दा, झगडा मिलाउनुपथ्र्यो, नहिँडी हुँदैनथ्यो । दुःख त थियो । समाज सेवा पनि गर्नै परेकाले पत्नीलाई भरपुर सहयोग गर्न भने गाह्रो थियो ।’’ ठट्यौली पारामा धन प्रसाद भन्नुहुन्छ, “धेरै छोराछोरी जन्माउँदा पुरस्कार दिन्छ भन्छन्, खोइ त २८ छोराछोरी जन्माउँदा हामीलाई कसैले केही गरेन । तपाईंहरू आएर सोध्नु मात्र हुन्छ ।”
साहित्यकार डा. देवी क्षेत्री दुलाल यो दम्पतीका सन्तान उत्पादन सन्दर्भमा भन्नुहुन्छ, “अहिलेको सन्दर्भमा यो अचम्म हो तर त्यसबेला हाम्रो समाजको अवस्था र चेतना यही हो– जति सन्तान सबै ईश्वरका वरदान । गोरखापत्रबाट साभार






