केन्द्रका महानिर्देशक सम्पत कोटुवेगोडाका अनुसार उद्धार तथा राहतका गतिविधि तीव्र गतिमा अघि बढाइएका छन् । घर डुबानमा परेका तथा क्षतिग्रस्त भएका ४३ हजार ९९५ जना बासिन्दालाई सुरक्षित स्थानमा सारेर राज्य सञ्चालित राहत शिविरमा राखिएको छ ।
देशभर सोमबारदेखि निरन्तर वर्षा भइरहेको थियो भने बुधबार मुख्य क्षेत्रहरूमा वर्षा झन् तीव्र भएपछि बाढीको अवस्था थप गम्भीर बनेको अधिकारीहरूको भनाइ छ । विशेषगरी केलानी नदीको तटबन्ध शुक्रबार साँझ भत्किएपछि धेरै बासिन्दा बाध्यतावश अस्थायी शिविरतर्फ सारिनुपरेको हो ।
हाल अधिकांश क्षेत्रको वर्षा कम भएको जनाएको छ, तर उत्तरी भेगका केही जिल्लामा अझै पानी परिरहेको अधिकारीहरूको भनाइ छ । संकट व्यवस्थापनका लागि भारतले चाहिने सामग्रीसहितको राहत सहायता पठाइसकेको छ र आवश्यकता परे थप सहयोगका लागि तयार रहेको जनाएको छ ।
श्रीलङ्का सरकारले उद्धार कार्यलाई सुदृढ बनाउन सैनिक, हेलिकोप्टर तथा डुङ्गा परिचालन गर्ने निर्णय गरेको छ । फसेका नागरिकको उद्धार र बाढीको जोखिम कम गर्न सेना निरन्तर खटिएको बताइएको छ ।
अधिकारीहरूका अनुसार यसपटकको बाढी सन् २०१६ मा आएको ठूलो बाढीभन्दा पनि उच्च स्तरमा पुग्ने आकलन गरिएको छ । सन् २०१६ मा ७१ जनाको मृत्यु भएको थियो । यस्तै, सन् २००० पछि श्रीलङ्कामा आएको सबैभन्दा विनाशकारी बाढी सन् २००३ को जुनमा आएको थियो, जसले २५४ जनाको ज्यान लिएको थियो ।






