Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

गरिमा विकास बैंकको १९औँ वार्षिकोत्सवमा देशभर बृहत् रक्तदान र सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न


 मङ्सिर ७,

गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम तथा १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सम्पन्न गरेको छ। प्रत्येक वर्षजस्तै यस वर्ष पनि बैंकले वार्षिकोत्सवलाई सामाजिक सेवा तथा सामुदायिक विकासमा केन्द्रित गर्दै विविध कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ।

वार्षिकोत्सवकै दिन देशभर सञ्चालन गरिएको बृहत् रक्तदान कार्यक्रमबाट कुल ६०२ युनिट रगत संकलन भएको बैंकले जनाएको छ। इटहरी, बीरगञ्ज, नारायणगढ, बालुवाटार, पोखरा, बेनी, बुटवल र कोहलपुरमा आयोजित रक्तदान कार्यक्रमहरूमा रक्तदाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यो अभियानलाई बैंकले सामुदायिक स्वास्थ्य सेवा प्रवर्द्धनमा महत्वपूर्ण योगदानका रूपमा लिएको छ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत देशका १६ विद्यालयहरूमा शैक्षिक सामग्री, विद्यालय पोशाक, पानी फिल्टर मेशिनलगायत सामग्री वितरण गरेको छ। त्यस्तै म्याग्दीको श्री निस्कोट स्वास्थ्य चौकीलाई सरसफाइ सामग्री हस्तान्तरण, चन्द्रागिरीस्थित मातातिर्थ वृद्धाश्रमलाई खाद्यान्न सामग्री प्रदान तथा चितवनस्थित सत्य साई राष्ट्रिय परिषद् नेपाललाई वाटर डिस्पेन्सर हस्तान्तरण गर्दै १९ वटा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ।

यससँगै “स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने नारासहित मंसिर ६ गते दोस्रो संस्करणको Garima Road Race–2082 पनि सफलतापूर्वक सम्पन्न गरिएको बैंकले जनाएको छ। प्रतियोगितामा १,००० भन्दा बढी धावकहरूको सहभागिता रह्यो। बैंकले यस कार्यक्रमलाई निरन्तरता दिँदै आगामी वर्षहरूमा पनि नियमित रूपमा आयोजना गर्ने लक्ष्य राखेको छ।

गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९ वर्षे यात्रामा निरन्तर साथ र विश्वास प्रदान गर्ने सबै सेवा–ग्राही, शेयरधनी, नियमनकारी निकाय, सञ्चारकर्मी, कर्मचारी तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व र समुदाय–मूखीकृत कार्यक्रमहरूलाई आगामी दिनमा पनि प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom