Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा सहकारी ठगी प्रकरण : पदाधिकारी र कर्मचारीमाथि अनुसन्धान जारी, पीडितलाई जाहेरी दिन आग्रह

कास्की — पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित श्री पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समिति, व्यवस्थापक तथा विभिन्न कालखण्डका पदाधिकारीहरूले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरी हिनामिना र ठगी गरेको प्रमाण फेला परेको छ।

यस सम्बन्धमा सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान गर्न सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको पत्र तथा सम्बन्धित कागजातहरू मिति २०८२।०७।१८ गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा प्राप्त भएको र त्यसका आधारमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार केही जिम्मेवार पदाधिकारी तथा कर्मचारीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी छ। अनुसन्धानका क्रममा सहकारीका सञ्चालक तथा व्यवस्थापकले निक्षेप रकम हिनामिना गरी बचतकर्तालाई ठगी गरेको प्रारम्भिक प्रमाण भेटिएको छ।


सहकारीमा बचत तथा शेयर रकम फिर्ता नपाएका पीडित बचतकर्ताहरूले आफ्नो रकम सम्बन्धी प्रमाणहरू (शेयरधनी प्रमाणपत्र, पासबुक, भौँचर, स्टेटमेन्ट, मुद्दती प्रमाणपत्र आदि) र नागरिकताको प्रतिलिपि सहित
जिल्ला प्रहरी कार्यालय, कास्कीमा “सहकारी ठगी” शीर्षकमा जाहेरी दरखास्त पेश गर्न अनुरोध गरिएको छ।

मुद्दाको हदम्यादलाई मध्यनजर गर्दै मिति २०८२।०८।०२ गतेभित्र अनिवार्य रूपमा जाहेरी दरखास्त पेश गर्न प्रहरी कार्यालयले सबै बचतकर्तालाई आग्रह गरेको छ।

साथै, सहकारीबाट ऋण लिई अपचलन गर्ने ऋणीहरूलाई समेत मुद्दाको प्रतिवादी बनाइने भएकाले, उनीहरूले जिल्ला प्रहरी कार्यालय, कास्कीको अपराध अनुसन्धान शाखामा सम्पर्क गरी आफ्नो भुक्तानी विवरणबारे जानकारी लिएर रकम फिर्ता प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारीमा आवद्ध सबै निक्षेपकर्ता र ऋणीलाई कानूनी प्रक्रिया अनुसार सहयोग गर्न आह्वान गरेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom