कात्तिक २० गते — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आले र स्वामिनारायण निर्माण सेवा प्रालि, धरानका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध राजस्व चुहावट र गैरकानूनी लाभ उठाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, दुवैजनाले मिलेमतो गरी नेपाल सरकारलाई रु. १ करोड २३ लाख ६९ हजार ६४९।६९ बराबरको हानि पुर्याएको प्रमाण भेटिएको छ । सोही बराबर जरिवाना र कैद सजायको मागसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
जिल्ला मोरङको सुन्दरहरैंचा नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा गछिया खोलाबाट बालुवा–गिट्टी उत्खननका लागि स्वामिनारायण निर्माण सेवा प्रालिसँग रु. ९ करोड ५१ लाख ५१ हजार १५१।५० (भ्याट बाहेक) रकममा ठेक्का सम्झौता गरेको थियो ।
तर, ठेक्का वापत बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रु. १ करोड २३ लाख ६९ हजार ६४९।६९ आन्तरिक राजस्व कार्यालयमा दाखिला नगरी राजस्व छली गरिएको पाइएको हो ।
अनुसन्धानका क्रममा कर अधिकृत आले र कम्पनीका प्रबन्ध निर्देशक बस्नेतबीच मिलेमतो गरी झुटा लिखत तयार पारिएको, राजस्व छली गरी गैरकानूनी लाभ लिएको र राज्यको राजस्वमा सिधा हानि पुर्याएको प्रमाण फेला परेको आयोगले जनाएको छ ।
अख्तियारले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ का दफा ९, १७ र २२ बमोजिम सजायको मागसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
यस प्रकरणले कर प्रशासन र निजी ठेकेदारबीचको मिलेमतोमा हुने राजस्व चुहावटका घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएको आयोगले जनाएको छ ।




