आयोजना कार्यालयका अनुसार मुस्ताङको घाँसाबाट माथिल्लो क्षेत्रसम्म कालोपत्र भइसके पनि कोबाङ–जोमसोम खण्डका तीन स्थानमा अझै काम हुन सकेको छैन। कालीगण्डकी कोरिडोरअन्तर्गतको यो सडक खण्डमा आर्थिक वर्ष २०७३/७४ मा ठेक्का सम्झौता भई निर्माण थालनी गरिएको थियो। पप्पु–गौरी पार्वती कोशी एन्ड न्यौपानी जेभीलाई ११ मिटर चौडाइसहित कालोपत्र गर्ने गरी ७० करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो।
सुरुमा तीव्र गतिमा अगाडि बढेको निर्माण कार्य केही वर्षमै सुस्त बन्दै गएपछि परियोजनाले निर्माण कम्पनीविरुद्ध पटक–पटक कारवाही प्रक्रियामा अघि बढाएको थियो। लगातारको दबाबपछि जेभीको मुख्य कम्पनी गौरी–पार्वतीले काम पुनः सुरु गरे पनि प्रगति अपेक्षित गतिमा अघि नबढेको आयोजनाले जनाएको छ।
आयोजनाका सूचना अधिकारी इन्जिनियर बाबुसाहेव बैतालका अनुसार निर्माण कम्पनीलाई कुल ठेक्का लागतको ०.०५ प्रतिशतका दरले जरिवाना तोकिएको छ। म्याद थप सातौँ चरणसम्म पुगिसकेकाे र हाल भौतिक प्रगति ९० प्रतिशत तथा वित्तीय प्रगति ८० प्रतिशत रहेको जानकारी दिनुभयो।
गौरी–पार्वती निर्माण कम्पनीका प्रतिनिधि सुमन अधिकारीका अनुसार टुकुचे क्षेत्रमा ४०० मिटर कालोपत्र र ३०० मिटर आरसिसी सडक विस्तार बाँकी छ। त्यस्तै, मार्फा–राजखोला पुलदेखि माथिल्लो भागसम्म करिब १,२०० मिटर तथा पुथाङ विमानस्थलदेखि नेपाली सेनाको ब्यारेकसम्म ५०० मिटर सडकमा संरचना निर्माण र कालोपत्र गर्न बाँकी रहेको उहाँले बताउनुभयो।
अधिकारीले मंसिर मसान्तभित्र सम्पूर्ण काम पूरा गर्ने दाबी गर्दै हाल धान काट्ने समयमा कामदार घर फर्केकाले केही ढिलाइ भएको तर एक हप्ताभित्रै कामले पुनः तीव्रता पाउने बताएका छन्।
लगातारको ढिलासुस्तीका कारण स्थानीयवासीले कालीगण्डकी कोरिडोरको महत्व भएको यो मार्ग चाँडोभन्दा चाँडो सञ्चालनमा आउनुपर्ने माग गर्दै आएका छन्।






