मकवानपुर, कात्तिक ३० गते ।
मकवानपुर जिल्लामा भएको दुःखद मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानास्थित बुङ्दल खोला पुल नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ।
बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरसाइकल झण्डै ४०/५० मिटर तल बुङ्दल खोलामा खसेपछि घटनास्थलमै दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराले पुष्टि गर्नुभयो। मृतक दुवै जनाको पहिचान भने खुल्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो।
दुर्घटना शनिबार राति भएको भए पनि आइतबार बिहान स्थानीयले मोटरसाइकल र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगतै प्रहरी टोली घटनास्थलमा पुगेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।





