न्यायिक निर्णयहरू कार्यान्वयन गर्दै सुरक्षित र न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्यअनुसार वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाबाट खटिएको विशेष अपरेशन टोलीले फरार रहेका दुई जना कसूरदारलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएको छ। मङ्सिर ०२ गते गरिएको सो अपरेशनमार्फत कैद तथा जरिवाना भुक्तान नगरी वर्षौँदेखि फरार रहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीकाे भनाइ छ।
पहिलो घटनामा वालिङ नगरपालिका–१२ निवासी गम्भीर सिंह गुरुङ (गम्भर सिंह गुरुङ) लाई नकबजनी (चोरी) मुद्दामा अदालतले तोकेको १ महिना १५ दिन कैद तथा रु. ४,५०० जरिवाना तिर्न बाँकी अवस्थामा पक्राउ गरिएको हो। उनको नाममा १३१९ नम्बरको लगत दर्ता रहेको प्रहरीले जनाएको छ।
यस्तै, भीरकोट नगरपालिका–०१ निवासी रामु विक (राम ब. विक) लाई तीनवटा फरक–फरक लगतमा दर्ता भएका नकबजनी (चोरी) तथा कट्टा मुद्दामा अदालतबाट तोकिएको १ वर्ष २ महिना १ दिनको कैद सजाय तथा सम्बन्धित जरिवाना तिर्न बाँकी राखी फरार अवस्थामा पक्राउ गरिएको हो। उनको नाममा १३२० नम्बरको लगत दर्ता रहेको उल्लेख गरिएको छ।
दुवैजनालाई पक्राउ गरी कैद तथा जरिवाना असुल उपरान्त आवश्यक कानुनी प्रक्रिया अघि बढाउन स्याङ्जा जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ। अदालतको आदेश कार्यान्वयनमा देखाइएको सक्रियताले अपराध नियन्त्रण, कानूनको शासन सुदृढीकरण तथा सुरक्षित समाज निर्माणमा महत्वपूर्ण योगदान पुगेको प्रहरी प्रशासनको मूल्यांकन छ।






