![]() |
| तस्विर : गोरखापत्र |
गत चार वर्षको तथ्याङ्कले नै देखाउँछ — दर्जनौँ आमाले सुत्केरी हुँदा ज्यान गुमाएका छन् भने धेरैले स्वास्थ्य संस्था पुग्नुअघि नै बाटोमै बच्चा जन्माएका छन्। पछिल्लो उदाहरण हुन् बुढीगंगा नगरपालिका–७ सिमलकोटका सिर्जना केसी, जसले अस्पताल पुग्नुअघि नै बाटोमा सन्तानलाई जन्माइन्।
स्वास्थ्य केन्द्र टाढा भएको र सहयोग समयमै नपाएको कारण सिर्जनाले बाटोमै बच्चा जन्माउनुपरेको बताइएको छ। खबर पाएलगत्तै सिमलकोट स्वास्थ्य केन्द्रकी अनमी बिनिता बिष्ट घटनास्थल पुग्दा उनले सुत्केरी भइसकेकी थिइन्। “हामी तुरुन्तै पुगेका थियौं, तर उहाँले पहिले नै बच्चा जन्माइसकेकी रहिछिन्,” अनमी बिष्टले बताइन्। उनका अनुसार सालनाल व्यवस्थापनपछि अवस्था सामान्य भएकाले चेकजाँच गरेर घर पठाइएको हो।
हाल आमा र शिशु दुवैको अवस्था सामान्य रहेको जनाइएको छ। बुढीगंगा नगरपालिकामा यस वर्ष मात्रै दुई अन्य आमाले पनि बाटोमै बच्चा जन्माएका छन्। स्वास्थ्य सेवा केही सुदृढ भए पनि यस्ता घटनाहरू अझै अन्त्य हुन सकेका छैनन्।
यो समस्या बुढीगंगामात्र सीमित छैन — बाजुराका सबै नौवटा स्थानीय तहमा यस्ता घटना दोहोरिइरहेका छन्। स्वास्थ्य संस्था टाढा हुनु, नियमित गर्भजाँच नहुनु, पौष्टिक आहारको कमी र कठिन भौगोलिक अवस्थाका कारण महिलाहरू जोखिममा छन्।
स्वास्थ्य कार्यालय बाजुराका अनुसार, जिल्लामा प्रत्येक महिनाजसो दुईदेखि तीन महिलाले बाटोमै सुत्केरी हुने गरेका छन्। सरकारले सञ्चालनमा ल्याएको “सुत्केरी हवाई उद्धार कार्यक्रम” पनि दुर्गम क्षेत्रका महिलासम्म प्रभावकारी रूपमा पुग्न नसकेको गुनासो स्थानीयवासीहरूले गरेका छन्।




