Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

फिल्मी शैलीमा अपहरणपछि सरोज शर्माको हत्या, दुई जना पक्राउ

फोटो: विष्णुप्रसाद पोखरेल ,गोत्रखापत्र 

कात्तिक १५ गते — झापा शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका ३२ वर्षीय सरोज शर्माको अपहरणपछि हत्या गरिएको खुलेको छ। एक सातादेखि बेपत्ता रहेका शर्माको शव शनिबार बिहान झापा गाउँपालिका–५, हुलाकी राजमार्ग नजिकको बिरिङ पुलमुनि गाडिएको अवस्थामा फेला परेको हो।

बिहान पुल आसपास दुर्गन्ध फैलिन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी र स्थानीयले खाल्डो खनेर हेर्दा कालो प्लास्टिकमा बेरिएको अवस्थामा शव फेला परेको बताइएको छ। शिवसताक्षी वडा नम्बर १० का वडा सदस्य दीपक पोखरेलका अनुसार, शवसँगै फेला परेको नागरिकताको आधारमा पहिचान खुलेको हो र परिवारले समेत सनाखत गरेको छ।

शर्माले चलाउँदै आएका बा १३ च ३८६४ नम्बरको कार यसअघि मङ्गलबार मेचीनगर–१३ को हातेमालो सामुदायिक वनभित्र आगजनी गरिएको अवस्थामा भेटिएको थियो। प्रहरीका अनुसार, हत्याराले फिल्मी शैलीमा अपहरण गरी सवारीसाधन जलाएर शव गाडेको देखिन्छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रकुमार खड्काले शव अत्यधिक कुहिएको अवस्थामा फेला परेकाले पहिचान गर्न कठिनाइ भएको बताए। “परिवारले शवको सनाखत गरेपछि अनुसन्धान सुरु गरिएको छ,” उनले भने।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा शर्माका परिचित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकाहरूको नाम खुलाइएको छैन। प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको र थप संलग्न व्यक्तिहरूको खोजी जारी रहेको जनाएको छ।

स्थानीयवासीहरूले अपहरणपछि हत्या गर्ने अभियुक्तलाई चाँडै पहिचान गरी कानूनी कारबाही गर्न माग गरेका छन्।

Top Post Ad

post bottom ads

Ads Bottom