Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

राहदानी छिटोछरितो बनाइदिने नाममा सेवाग्राहीसँग रकम असुल्ने तीन बिचौलिया पक्राउ




काठमाडौं, मंसिर १ गते। राहदानी छिटोछरितो बनाइदिने नाममा सेवाग्राहीसँग अतिरिक्त रकम असुल गर्दै आएका तीन बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले राहदानी विभाग, त्रिपुरेश्वरको मुख्य गेट बाहिरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामध्ये सर्लाहीको हरिवन नगरपालिका–१ स्थायी घर भई काठमाडौं महानगरपालिका–२६ मा बसोबास गर्दै आएका ३२ वर्षीय भाग्य नारायण साह पहिलो व्यक्ति हुन्। दोस्रो, धादिङको नेत्रावती गाउँपालिका–२ स्थायी घर भई काठमाडौं महानगरपालिका–३ मा बस्ने ३६ वर्षीय बिरेन्द्र थापा मगर रहेका छन्। यस्तै, तेस्रो व्यक्ति सिन्धुपाल्चोकको चौतारा नगरपालिका–५ स्थायी घर भएर काठमाडौं महानगरपालिका–२८ मा बस्ने ४३ वर्षीय मिक्टे लामा रहेका छन्।

प्रहरीका अनुसार उनीहरू राहदानी विभाग बाहिर सेवाग्राहीलाई “छिटो पासपोर्ट बनाइदिन्छौं” भन्दै प्रलोभनमा पार्थे। पासपोर्ट सेवा चाँडो दिने बहानामा अतिरिक्त रकम माग्ने, सेवाग्राहीलाई भ्रममा पार्ने र विभागका कर्मचारीको नियमित कार्य सम्पादनमा अवरोध पुर्‍याउने गतिविधि गर्दै आएको भन्ने सूचनाका आधारमा प्रहरीले निगरानी कडा पारेको थियो।

प्रहरीले पक्राउ परेका तिनै बिचौलियालाई थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ। राहदानी सेवामा बिचौलिया र दलालको गतिविधि रोक्न प्रहरीको विशेष निगरानी अभियान जारी रहेको र यस्ता अनियमिततामा संलग्न जो–कोहीमाथि कडा कारबाही गरिने प्रहरीले जनाएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom