Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

नक्कली भारतीय राहदानी प्रयोग गरी ओमान जान लागेकी नेपाली महिला मुम्बईबाट पक्राउ


पोखरा  । विदेश जाँदाको भिसा कडाइपछि मानव तस्करहरूले नक्कली भारतीय कागजात प्रयोग गरी नेपालीलाई खाडी मुलुक पठाउने क्रम बढेको खुलासा भएका बीच मुम्बई विमानस्थलमा नक्कली भारतीय राहदानीसहित एक नेपाली महिला पक्राउ परेकी छन्।

बुधबार छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन जाँचका क्रममा ‘काजल’ नाम परिचय दिएकी महिलालाई शंका लागेपछि प्रहरीले थप अनुसन्धान गर्दा उनी नेपाली नागरिक रहेको पुष्टि भएको भारतीय अधिकारीहरूले जनाएका छन्।

सहर प्रहरीले दिएको जानकारीअनुसार उनले पेश गरेको राहदानीमा जन्मस्थान भारतको हिमाचल प्रदेश, नोहरा उल्लेख थियो। तर अनुहार र बोलिचालीका कारण शंका लागेको भन्दै गरिएको सोधपुछमा उनले आफू नेपाली नागरिक भएको स्वीकार गरेकी थिइन्। उनले आफ्नो वास्तविक नाम काजल लामा र घर ठेगाना नेपाल–पर्सा जिल्ला भएको खुलाइन।

प्रहरीका अनुसार उक्त महिलाले भारतीय आधार कार्ड, प्यान कार्ड तथा अन्य पहिचान कागजात नक्कली ठेगाना प्रयोग गरी बनाएको खुलेको छ। उनले शिमला राहदानी कार्यालयबाट भारतीय राहदानी नक्कली कागजातका आधारमा प्राप्त गरेकी थिइन्।

अध्यागमन विभागको उजुरीपछि उनलाई राहदानी कागजात गलत बनाउने, गलत पहिचान प्रस्तुत गर्ने तथा अवैध रूपमा यात्रा प्रयास गरेको आरोपमा पक्राउ गरिएको भारतीय अधिकारीहरूले बताएका छन्। विदेशी नागरिक भएर पनि कसरी धेरै भारतीय परिचयपत्र सुरक्षित गर्न सकिन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

नेपालबाट खाडी मुलुक, विशेषगरी ओमानमा घरेलु कामदार पठाउन अनुमति निषेध भएपछि मानव तस्करले भारत, बंगलादेश, श्रीलंका र दुबईमार्ग प्रयोग गरी अवैध रूपमा नेपाली महिला कामदार पठाउने गरेको तथ्य पछिल्ला समय बढ्दै गएको छ। गैरकानुनी बाटो हुँदै खाडी मुलुक पुगेका सयौँ नेपाली महिलाले अहिले पनि उद्धारका लागि अपिल गरिरहेका छन्।

अवैध रूपमा पुगेकाहरूको श्रम स्वीकृति नहुने र दूतावासले पनि व्यवस्थित सेवा दिन नसक्ने भएकाले उनीहरू धेरै प्रकारका जोखिममा पर्ने गरेका छन्। कतिपय अवस्थामा विदेशमै आर्थिक अभावका कारण मृतकहरूको शव स्वदेश ल्याउन नसकी त्यहीँ अन्तिम संस्कार गर्नुपरेको उदाहरण पनि भेटिन्छ।



Top Post Ad

post bottom ads

Ads Bottom