मङ्सिर ११ गते । कास्की प्रहरीले पोखरा महानगरपालिका–१२, कुँडहर चोकबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। स्थानीय क्षेत्रमै लागूऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्युरो पोखराको संयुक्त टोलीले निगरानी बढाई उक्त कारबाही गरेको हो।
उक्त टोलीले ग–२६–प ३७९७ नम्बरको स्कुटर रोकेर जाँच गर्ने क्रममा चालक २२ वर्षीय दिपेन छन्त्याल (पोखरा–६) र पछाडि सवार २५ वर्षीय राहुल शेरचन (पोखरा–८) लाई नियन्त्रणमा लिएको थियो। तलासीका क्रममा उनीहरूको साथबाट प्लास्टिकमा लुकाइ–छिपाइ राखिएको तीन वटा पोकामध्ये दुई पोकामा ब्राउनसुगरजस्तै देखिने ०.३२ ग्राम पदार्थ र एक पोकामा चरेशजस्तै देखिने १.३३ ग्राम पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद सामग्रीसहित दुबै जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाइएका छन्। लागूऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ।






