कात्तिक २० गते — पछिल्लो समय मकवानपुर जिल्लालाई गाईगोरु तस्करीको मुख्य ट्रान्जिट मार्गका रूपमा प्रयोग गर्ने क्रम तीव्र बनेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामै ७० भन्दा बढी गोरु अवैध रूपमा ढुवानी हुँदै गर्दा नियन्त्रणमा लिइएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला पशु सेवा कार्यालयको संयुक्त टोलीले मंगलबार पनि चितवनबाट हेटौंडातर्फ ल्याइँदै गरेको ना ३–००१ ख ०२१५९ नम्बरको ट्रकमा खचाखच राखिएका २२ वटा गोरु नियन्त्रणमा लिएको हो । तीमध्ये दुई गोरु मृत अवस्थामा फेला परेका थिए ।
जिल्ला पशु सेवा कार्यालयका प्रमुख बज्रकिशोर ठाकुरका अनुसार, पछिल्लो समय पश्चिमतर्फबाट पूर्वका जिल्लातर्फ लैजाने क्रममा मकवानपुरलाई ट्रान्जिटका रूपमा प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ । गत आर्थिक वर्षमा मात्र २०० भन्दा बढी गाईगोरु नियन्त्रणमा लिइएका थिए भने हालसम्मको संख्या २७० पुगेको छ ।
गौशाला नहुँदा नियन्त्रणमा परेका गोरुहरूलाई स्थानीय किसानलाई कृषि प्रयोजनका लागि जिम्मा लगाउने गरिएको छ । मंगलबार नियन्त्रणमा लिइएका गोरुमध्ये ८ वटा हेटौंडा–१६ आकाशधाराका किसानलाई र १२ वटा बकैया क्षेत्रका किसानलाई प्रदान गरिएको छ । किसानहरूले निशुल्क गोरु पाएपछि भिरालो पाखामा जोत्न सजिलो भएको भन्दै खुसी व्यक्त गरेका छन् ।
तर, गाईगोरु ढुवानीमा संलग्न सवारी चालक र चरुवा पक्राउ परे पनि मुख्य तस्करहरू भने अझै कारबाहीको दायरामा आउन सकेका छैनन्, प्रमुख ठाकुरले बताए । उनका अनुसार, एकल प्रयासले यो समस्या समाधान गर्न कठिन भएकाले सम्बन्धित निकायबीच संयुक्त अभियान आवश्यक छ ।
📜 पशु ढुवानी मापदण्ड २०६४ अनुसार:
-
गाईगोरुका लागि ०.८४–१.२७ वर्गमिटर ठाउँ अनिवार्य,
-
गाडीमा प्राथमिक उपचार बक्स अनिवार्य,
-
फरक प्रजातिका पशु एउटै गाडीमा राख्न नपाइने,
-
टाउको चालकतर्फ हुने गरी राख्नुपर्ने, नाक वा पुच्छर बाँध्न नहुने,
-
यात्रा अवधिमा घाँस र पानीको व्यवस्था गर्नुपर्ने,
-
८ घण्टाभन्दा बढी लगातार ढुवानी गर्न नपाइने व्यवस्था गरिएको छ ।
तर, मकवानपुर हुँदै हुने अधिकांश ढुवानीमा यी मापदण्डहरूको बेवास्ता भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।




