पोखरा महानगरपालिका–१५ मा अवस्थित मेरिगोल्ड अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा अन्तरसदनात्मक क्विज प्रतियोगिता सम्पन्न भएको छ। माध्यमिक तहका विद्यार्थीहरूबीच भएको उक्त प्रतिस्पर्धात्मक कार्यक्रममा विभिन्न सदनका टोलीहरूले सहभागीता जनाएका थिए।
प्रतियोगितामा रातो सदन उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्यो। विजयी टोलीमा आयुष गहतराज, दिप्सन क्षेत्री, डेविड खड्का र अस्मि जिटी रहेका थिए।
त्यसैगरी, पहेंलो सदनले द्वितीय स्थान प्राप्त गरेको थियो। सो टोलीमा आर्ज खत्री, रोशनी सुनार, प्रिन्स क्षेत्री र आयुष बिक सहभागी थिए।
कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै विद्यालयकी प्राचार्य शर्मिला गुरुङले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना, सामूहिक अध्ययन संस्कार र बौद्धिक क्षमता विकासका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले सहभागिता जनाएका सबै विद्यार्थी, शिक्षक तथा आयोजक टोलीलाई धन्यवाद दिँदै आगामी दिनमा यस्ता शैक्षिक क्रियाकलापलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
विद्यालयले विद्यार्थीहरूको ज्ञान, नेतृत्व क्षमता र प्रस्तुतीकरण कौशल अभिवृद्धिका लागि नियमित रूपमा विभिन्न सह–शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।





