Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

नेपाली विद्यार्थीलाई बिना धितो एक लाख डलरसम्मको शैक्षिक ऋण सुविधा



काठमाडौँ, पुस ७ गते ।
विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि ठूलो राहतको खबर आएको छ । अब नेपाली विद्यार्थीले धितो वा जमानी नदिई नै अधिकतम अमेरिकी डलर एक लाख (झण्डै एक करोड ३० लाख रुपियाँ) सम्मको शैक्षिक ऋण पाउने भएका छन् ।

नेपालमै पहिलोपटक अमेरिकी संस्था एमपावर फाइनान्सिङ (MPower Financing) ले स्नातकोत्तर (पोस्टग्राजुएट) तहमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई लक्षित गर्दै यस्तो सुविधा सार्वजनिक गरेको हो । यसअघि नेपाली विद्यार्थीले शिक्षा ऋण लिन बैंकमा घरजग्गा धितो राख्नुपर्ने बाध्यता थियो ।

एमपावर फाइनान्सिङले हालसम्म विश्वका १९० भन्दा बढी देशका २० हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक ऋण उपलब्ध गराइसकेको जनाएको छ । नेपालबाट अन्तर्राष्ट्रिय शिक्षाप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै संस्थाले नेपाली विद्यार्थीलाई समेत आफ्नो कार्यक्रमअन्तर्गत समावेश गरेको बताइएको छ ।

पाँच सयभन्दा बढी विश्वविद्यालयसँग सहकार्य

एमपावर फाइनान्सिङले विगत ११ वर्षदेखि अमेरिका र क्यानडाका पाँच सयभन्दा बढी उत्कृष्ट कलेज तथा विश्वविद्यालयमा अध्ययन गर्न जाने विद्यार्थीलाई आर्थिक सहयोग गर्दै आएको छ । संस्थाले धितो र ग्यारेन्टर नमाग्नुको कारण यसको विशेष डेटा–आधारित अल्गोरिदम प्रणाली रहेको जनाएको छ ।

यो प्रणालीले विद्यार्थीको शैक्षिक पृष्ठभूमि, करियर सम्भावना र भविष्यको आम्दानी क्षमतालाई विश्लेषण गरी १० वर्षको अवधिमा ऋण भुक्तानी गर्न सक्ने क्षमता निर्धारण गर्छ । यसैका आधारमा ऋण स्वीकृत हुने भएकाले पारम्परिक बैंक प्रणालीभन्दा फरक रहेको संस्थाको दाबी छ ।

कुन विषयका विद्यार्थी प्राथमिकतामा ?

एमपावर फाइनान्सिङले मुख्यतः
विज्ञान (Science)
प्रविधि (Technology)
इन्जिनियरिङ (Engineering)
गणित (Mathematics)
एमबीए (MBA) अध्ययन गर्न चाहने विद्यार्थीलाई प्राथमिकतामा राख्छ ।

यी विषयमा अन्तर्राष्ट्रिय श्रम बजारमा उच्च माग रहेकाले विद्यार्थीको करियर सम्भावना मजबुत हुने विश्वास संस्थाले गरेको छ ।

स्थिर ब्याजदर, १० वर्षसम्म परिवर्तन नहुने

संस्थाले शैक्षिक ऋण स्थिर ब्याजदर मा प्रदान गर्छ । विद्यार्थीको प्रोफाइलको जोखिम मूल्याङ्कनअनुसार ब्याजदर निर्धारण गरिए पनि ऋण स्वीकृत भएपछि पूरै १० वर्षसम्म ब्याजदर परिवर्तन नहुने एमपावर फाइनान्सिङकी एसोसिएट डाइरेक्टर क्लेयर अल्माण्ड ले जानकारी दिनुभयो ।

ऋण पाउनका लागि मुख्य आधार

एमपावर फाइनान्सिङका अनुसार ऋणका लागि योग्य हुन विद्यार्थीले निम्न आधार पूरा गर्नुपर्छ ः

  • संस्थाले सहकार्य गरेका ५०० कलेज वा विश्वविद्यालयमध्ये कुनै एकमा भर्ना भएको हुनुपर्छ ।

  • शैक्षिक रेकर्ड, टेस्ट स्कोर, कार्य अनुभव र भविष्यको करियर योजना मूल्याङ्कन गरिन्छ ।

  • क्रेडिट रेकर्ड (यदि छ भने) हेरिन्छ, तर नयाँ विद्यार्थीका हकमा अनिवार्य छैन ।

विद्यार्थीले २० हजार डलरदेखि एक लाख डलरसम्म ऋण लिन सक्नेछन् । उक्त रकम ट्युसन फी, बसोबास खर्च तथा अन्य शैक्षिक आवश्यकतामा प्रयोग गर्न सकिनेछ ।

आवश्यक परे जति मात्र ऋण प्रयोग गर्न सकिने

एमपावर फाइनान्सिङको अर्को विशेषता भनेको लचकता हो । स्वीकृत रकममध्ये विद्यार्थीले आवश्यक परेको जति मात्र प्रयोग गर्न सक्छन् र प्रयोग गरिएको रकमको मात्र ब्याज तिर्नुपर्छ । पछि छात्रवृत्ति वा अन्य सहयोग पाएमा बाँकी ऋण नलिने विकल्पसमेत उपलब्ध छ ।

भिसा र करियर सहयोग पनि

ऋण सुविधा मात्र नभई एमपावर फाइनान्सिङले विद्यार्थीलाई
– भिसा अन्तर्वार्ताको तयारीका लागि निःशुल्क वेबिनार
– करियर एक्सिलेरेटर कार्यक्रम
– अमेरिका वा क्यानडा पुग्नुअघि नै इन्टर्नसिप र रोजगार तयारीका बुट क्याम्प
जस्ता सेवासमेत प्रदान गर्छ ।

पूर्ण रूपमा अनलाइन आवेदन

संस्थाको सम्पूर्ण आवेदन प्रक्रिया कागजपत्ररहित र पूर्ण रूपमा डिजिटल रहेको छ । इच्छुक विद्यार्थीले घरमै बसेर करिब ३० मिनेटभित्र वेबसाइटमार्फत आवेदन प्रक्रिया पूरा गर्न सक्ने एसोसिएट डाइरेक्टर अल्माण्डले जानकारी दिनुभयो ।

विदेशमा अध्ययन गर्न चाहने तर धितो अभावका कारण रोकिएका नेपाली विद्यार्थीका लागि यो सुविधा महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom