Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

स्याङ्जाको अर्जुनचौपारी र दार्चुलाको अपिहिमालबीच ‘भगिनी सम्बन्ध’ सम्झौता, पाँच वर्षे सहकार्य रोडम्याप सार्वजनिक


मङ्सिर १९,

स्याङ्जाको मध्यपहाडी क्षेत्रलाई दीर्घकालीन सहकार्यको कडीमा जोड्ने उद्देश्यसहित अपिहिमाल गाउँपालिका र अर्जुनचौपारी गाउँपालिकाबीच ‘भगिनी सम्बन्ध’ सम्झौता भएको छ। दुवै पालिकाले पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि, वातावरणीय संरक्षण, सुशासन र पूर्वाधारजस्ता प्रमुख क्षेत्र समेटिएको पाँच वर्षे सहकार्य रोडम्याप अघि सारेका छन्।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रोत्साहित गरेको अन्तर–पालिका सहयोगलाई व्यवहारिक बनाउँदै दुर्गम हिमाली गन्तव्य र सांस्कृतिक–धार्मिक समृद्ध क्षेत्रबीच नयाँ सहकार्यको ढोका खुलेको दुवै पक्षले बताए।



पर्यटन र सांस्कृतिक प्रवर्द्धनलाई प्राथमिकता

सम्झौतामा दुवै पालिकाका आ–आफ्ना विशेष पर्यटन आकर्षणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

  • अपिहिमाल क्षेत्र — अपिहिमाल बेसक्याम्प, कालीधुंगा, छिप्राटालजस्ता उच्च हिमाली गन्तव्य
  • अर्जुनचौपारी — नवग्रह मन्दिर, डहरे देउराली, बोटानिकल म्याथमेटिकल पार्क

यी स्थलहरूको पूर्वाधार विकास, प्रचार–प्रसार तथा संरक्षणमा साझा योजना अघि बढाइनेछ। हिमाली ट्रेकिङ, सांस्कृतिक उत्सव, साहसिक पर्यटन र पर्यटक सुरक्षा सम्बन्धी कार्यक्रम संयुक्त रूपमा सञ्चालन गरिनेछन्।


शिक्षा, युवा र डिजिटल क्षेत्रका कार्यक्रम

विद्यालय–विद्यालय साझेदारी, शिक्षक–विद्यार्थी आदान–प्रदान, चेन्ज मेकर क्लबजस्ता युवा नेतृत्व परियोजनामा सहकार्य गर्ने उल्लेख छ।

त्यसैगरी डिजिटल साक्षरता, ई–गभर्नेन्स, सीप विकास तथा उद्यमशीलता प्रवर्द्धनमा संयुक्त पहल गरिनेछ।


स्वास्थ्य, सामाजिक सुरक्षा र समावेशन

सम्झौतामा प्राथमिक स्वास्थ्य सेवा, जनस्वास्थ्य अभियान तथा महिला, बालबालिका, वृद्ध र विपन्न समुदायलाई लक्ष्यित कार्यक्रमलाई प्राथमिकता दिइनेछ।
मानसिक स्वास्थ्य, पोषण र समुदाय–मुखी स्वास्थ्य प्रवर्द्धनमा अनुभव तथा स्रोत आदान–प्रदान गरिनेछ।


कृषि, वातावरण संरक्षण र विपद् व्यवस्थापन

उच्च मूल्यका बाली, जैविक कृषि, पशुपालन तथा कृषि प्रविधि–सम्बन्धी तालिम र संयुक्त अध्ययन गरिनेछ।
जल–वन–माटो संरक्षण, जलवायु जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन पनि सहकार्यका प्रमुख एजेन्डा हुन्।


पूर्वाधार र सुशासनमा साझेदारी

दुर्गम क्षेत्रका पूर्वाधार विकास, यातायात, सूचना तथा सञ्चार, सामुदायिक संरचनाको विकासमा संयुक्त काम गरिने छ।
डिजिटल प्रशासन, पारदर्शिता, सुशासन सुधारका क्षेत्रमा दुवै पालिका एक–अर्कालाई प्राविधिक तथा व्यवस्थापकीय सहयोग प्रदान गर्नेछन्।


समन्वय समिति र नवीकरणीय पाँच वर्षे अवधि

सम्झौता कार्यान्वयनका लागि ‘भगिनी सम्बन्ध समन्वय समिति’ गठन गरिने छ, जसले वार्षिक कार्ययोजना र प्रगति मूल्यांकन गर्नेछ। अध्ययन, अनुसन्धान, रिपोर्ट तथा प्राविधिक सहयोगमार्फत कार्यक्रम सञ्चालन गरिनेछ। सम्झौता पाँच वर्षका लागि प्रभावकारी रहनेछ र आवश्यकताअनुसार नवीकरण गर्न सकिनेछ।

सम्झौतामा अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहरा र अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि अध्यक्ष तिवारीले अर्जुनचौपारीले विकसित गरेका ‘सिग्नेचर मोडेल’ अन्य स्थानीय तहका लागि व्यवहारिक मार्गनिर्देशन बन्न सक्ने उल्लेख गरे। उनले अपिहिमालसँगको सहकार्यले सीप, अवसर र पहुँचमा नयाँ सम्भावना खुल्ने विश्वास व्यक्त गर्दै पर्यटन, शिक्षा, कृषि र सुशासनमा संयुक्त पहलले स्थानीय विकास गतिशील बनाउने बताए।

Top Post Ad

post bottom ads

Ads Bottom