सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार चितवनको साविक बछौली गाविस–९ (हाल रत्ननगर नगरपालिका–६) का ४७ वर्षीय बुद्धिराम दराई कँडेलको हत्यामा संलग्न देखिएपछि पक्राउ गरिएको हो। उनलाई आवश्यक कानुनी प्रक्रिया एवं थप अनुसन्धानका लागि आज लमजुङ प्रहरीले जिम्मा लिएको छ।
यसरी खुल्यो घटनाको रहस्य
विसं २०८१ चैत ३१ गते लमजुङको भकुण्डेमा रहेको कँडेलको घरमा बाहिरबाट ताला लागेको देखेपछि स्थानीयले दुर्गन्ध आउन थालेको भन्दै प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले घरको ढोका फोरेर प्रवेश गर्दा कँडेलको शव बक्सपलङको जगमुनि त्रिपालले बेरिएको अवस्थामा फेला परेको थियो। घटनालाई अत्यन्त संवेदनशील मान्दै सिआइबीबाट विशेष अनुसन्धान टोली खटाइएको प्रवक्ता श्रेष्ठले बताए।
हत्यारा कैद भुक्तानको समयमा नै चिनजान भएको व्यक्ति
- विसं २०६७ मा गोरखाकी चिनीमाया पाण्डे हत्या प्रकरण
- विवादका क्रममा चिनीमायाको घाँटी थिचेर हत्या
- २०६८ असार २० गते सर्वस्वसहित जन्मकैद
दराई जेल सजाय भुक्तानका क्रममा भीमफेदी कारागारमा पुगेका थिए, जहाँ तत्कालीन प्रहरी हवल्दार सीता कँडेल सुरक्षा ड्युटीमा खटिएकी थिइन्। त्यही बेला दुवैबीच परिचय भएको अनुसन्धानबाट खुलेको छ।
कारागारबाट छुटेपछि दराई २०८१ चैत ३१ गते कँडेल एक्लै रहेका बेला घरमै पुगेका थिए। घरभित्र हत्या गरी शव लुकाएर बाहिरबाट ढोका ताल्चा लगाइ फरार बनेको अनुसन्धानले देखाएको छ।






