प्राप्त विवरणअनुसार, मिति २०६५ साल वैशाख ५ गते राति करिब १० बजे जिल्ला धनुषाको साविक बल्हागोठ गाविस–६ (हाल जनकनन्दिनी गाउँपालिका–२) मा बस्ने देवजी खत्वे, बिन्दे खत्वे तथा उनकी श्रीमती परम देवी खत्वेनी लगायतले सोही स्थानकी करिब ६० वर्षीया गुलाविया देवी खत्वेनी र रामशरण खत्वेलाई कुटपिट गरेका थिए । कुटपिटकै क्रममा गुलाविया देवी खत्वेनीको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनापछि मृतकका आफन्त रामशरण खत्वेले जाहेरी दिएपछि नेपाल सरकार वादी र देवजी खत्वेसमेत चार जनालाई प्रतिवादी बनाएर ज्यान सम्बन्धी कसुर मुद्दा दर्ता गरिएको थियो । तर वारदातलगत्तै प्रतिवादीहरू फरार भएका थिए ।
लामो समयदेखि फरार रहेका प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय खजुरीले १७ वर्षपछि प्रतिवादीमध्ये बिन्दे खत्वेलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका खत्वेलाई आज मिति २०८२ साल पुस ५ गतेदेखि लागू हुने गरी धनुषा जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका प्रतिवादीको विवरण
- नाम: बिन्दे खत्वे
- उमेर: करिब ५० वर्ष
- ठेगाना: साविक बल्हागोठ गाविस–६, हाल जनकनन्दिनी गाउँपालिका–२, धनुषा
प्रहरीका अनुसार अन्य फरार प्रतिवादीहरूको खोजी कार्य पनि तीव्र पारिएको छ । १७ वर्षपछि भए पनि अभियुक्त पक्राउ पर्नुले पीडित परिवारलाई न्यायको आशा थपिएको स्थानीयवासीहरूले बताएका छन् ।






