काठमाडौं । पछिल्ला राजनीतिक नियुक्तिहरू विवादित बनेको, परिवार र आफन्त केन्द्रित निर्णय भएको तथा जेनजीका मागप्रति सरकार उदासीन देखिएको आरोप लगाउँदै जेनजी अभियन्ताहरूले वर्तमान सरकारको विकल्प खोज्ने निष्कर्ष निकालेका छन्। उनीहरूले सुशीला कार्की नेतृत्वको सरकार जेनजी आन्दोलनको मर्मअनुसार अघि बढ्न असफल भएको ठहर गरेका छन्।
एक जेनजी अभियन्ताले राजधानीसँग भने, “हामी अब सुशीला कार्कीको निरन्तरताको पक्षमा छैनौं। उहाँले मार्गप्रशस्त गरेपछि विवादरहित व्यक्तिको नेतृत्वमा सर्वपक्षीय सहमतिबाट नयाँ सरकार गठन गर्ने विषयमा छलफल अघि बढेको छ। जेनजीका माग पूरा गर्ने प्रतिबद्धतासहितको सरकार आवश्यक छ।” उनका अनुसार दलका युवा पुस्ता र नागरिक अगुवासँग प्रस्तावित नेतृत्व र एजेन्डाबारे परामर्श भइरहेको छ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जेनजी अभियन्ता मिराज ढुंगानाले वर्तमान सरकारले जेनजी आन्दोलनको नेतृत्व गर्न नसक्ने दाबी गरे। उनले सरकारलाई असफल र असक्षम भन्दै सडकबाटै दबाब बढाइने चेतावनी दिए। “जेनजी आन्दोलनलाई धोका दिइएको छ,” उनले भने, “२०८४ सालको निर्वाचनलाई २०८२ मै सार्न आन्दोलन भएको होइन। तर सरकार निर्वाचनको रटानमै सीमित छ।”
ढुंगानाले देशका समस्या समाधानमा सरकार असफल भए नेपाल बंगलादेशजस्तो अवस्थातर्फ धकेलिन सक्ने चेतावनीसमेत दिए। उनका अनुसार निकासका लागि सर्वपक्षीय सरकार अपरिहार्य भइसकेको छ।
त्यसैगरी, जेनजी अभियन्ता एवं कमन जेनजीका अध्यक्ष विकेश साहले हालको व्यवस्थामा कुनै सार्थक सुधार नआएको टिप्पणी गरे। “यही अवस्थामा निर्वाचनको रटान गर्नु बेकार छ,” उनले भने, “जेनजी विद्रोह केवल एउटा निर्वाचन गराउनका लागि होइन। असफल र असक्षम सरकारको अब आवश्यकता छैन।”
पत्रकार सम्मेलनमा जेनजी अभियन्ताहरूले देशव्यापी शान्तिपूर्ण आन्दोलन घोषणा गरेका छन्। उनीहरूको प्रमुख मागमा वर्तमान व्यवस्थामा परिवर्तन, जेनजी हत्यारा तथा भ्रष्टाचारीमाथि कडा कारबाही, र विकास तथा राजनीतिक निकासका लागि सर्वपक्षीय सरकार गठन समावेश छन्। जेनजी अगुवाहरूका अनुसार अबको आन्दोलनले सरकारलाई स्पष्ट दिशामा निर्णय लिन बाध्य पार्नेछ।






