मङ्सिर १५, पोखरा । जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रसाद अर्यालमाथि तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। सोमबार तमु ह्युल छोेज धिं गुरुङ राष्ट्रिय परिषद् कास्कीले पोखरामा आयोजना गरेको सम्मान समारोहमा उनले तत्कालीन कानूनी सल्लाहकारको भूमिकामा रहेका अर्यालले आन्दोलनका महत्त्वपूर्ण क्षणमा सही सल्लाह नदिएको आरोप लगाए।
गुरुङका अनुसार कानूनी सल्लाहमा कमजोरीका कारण देश अपेक्षित परिवर्तनको दिशामा अघि बढ्न नसकेको हो। “हामीलाई सही सल्लाह नदिँदा परिवर्तनप्रतिको आशा मर्नुभयो,” उनले भने। अर्यालले जेनजी आन्दोलनको त्याग र रगतमाथि टेकेर आज गृहमन्त्री बनेको उनको आरोप थियो।
उनले भन्नुभयो, “हिजो अगाडि–पछाडि गरेर सल्लाह दिने ओमप्रकाश अर्याल आज यो मिलेन, त्यो मिलेन भन्दै फाइदा उठाइरहनुभएको छ। त्यो बेला उहाँले भन्न सक्नुहुन्थ्यो— संविधान संशोधन बिना माग पूरा हुँदैन। तर त्यो भनिएन। राजनीतिलाई पद र अवसरको खेल बनाएर युवाको भरोसा तोडियो।”
गुरुङले सल्लाहकार तहमा नै स्वार्थपूर्ण प्रवृत्ति हाबी भएको टिप्पणी गरे। “सबै एक्सपर्ट भनाउँदाहरू कुनै मन्त्रीका लागि, कुनै पदका लागि आउँछन्। सल्लाहकारहरू यति सेल्फिस छन् कि आज गृहमन्त्रीकै कुर्सीमा बसिरहनुभएको छ,” उनले कटाक्ष गरे।
समारोहमा गुरुङले आन्दोलनका कठिन दिनहरूको स्मरण गर्दै युवा पुस्ताले देशका हितका लागि ठूलो त्याग गरेको दाबी गरे। “कफ्र्युका बीच पनि हामी अघि बढ्यौँ। छ दिनसम्म पानी र भात खानु परेन। सिटामोल खाएर लडिरह्यौँ,” उनले भने, “देशका लागि सम्भावित सबै उच्च पद त्यागिएको थियो। यो सामान्य कुरा होइन।”






