काठमाडौं । केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलबाट भागी फरार भएका चोरी मुद्दाका प्रतिवादीलाई प्रहरीले काठमाडौंको तारकेश्वर क्षेत्रबाट पक्राउ गरेको छ।
पुस १८ गते राति करिब २२ः१५ बजे, जिल्ला जुम्ला सिंजा गाउँपालिका–२ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–११ डाँडागाउँ हिलेटोलमा डेरा गरी बस्दै आएका २० वर्षीय हरि शंकर शर्माको डेरा कोठामा लुकीछिपी बसेको अवस्थामा फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१८ नरदेवी घर भएका २० वर्षीय रोहित खड्गी शाहीलाई प्रहरीले फेला पारेको हो।
रोहित खड्गी शाही केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंबाट भागी फरार भएका चोरी मुद्दाका प्रतिवादी रहेको प्रहरीले जनाएको छ।
चोरीका सवारी साधनसमेत बरामद
प्रहरीले उनलाई फेला पार्ने क्रममा सोही डेरा कोठाबाट विभिन्न चोरीका सामग्रीसमेत बरामद गरेको छ। बरामद सामग्रीमा
- जिल्ला काठमाडौं वसुन्धराबाट चोरी भएको लु. ५८ प ३९७५ नम्बरको रातो रंगको FZ मोटरसाइकल,
- जिल्ला भक्तपुर ठिमी क्षेत्रबाट चोरी भएको KTM DUKE मोटरसाइकल, जसमा वास्तविक नम्बर प्लेट बाग्मती प्रदेश ०२–०६२५ ६३७० हटाई बाग्मती प्रदेश ०२–०६० प ९७८६ नम्बरको नक्कली नम्बर प्लेट जडान गरिएको,
- Samsung कम्पनीको मोबाइल फोन १ थान रहेका छन्।
प्रहरीले फरार प्रतिवादी रोहित खड्गी शाहीसँगै डेरा उपलब्ध गराएका हरि शंकर शर्मालाई समेत नियन्त्रणमा लिएको छ। दुवै जनालाई चोरी तथा फरार प्रतिवादीलाई लुकाइछिपाइ राखेको अभियोगमा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद सवारी साधन र मोबाइलको वास्तविक धनी पहिचान तथा घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्यसमेत तीव्र बनाइएको छ।






