Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पिकअप र मोटरसाइकल ठोक्किँदा आगलागी: सेनाका एक सिपाहीसहित पाँच जना घाइते - Brighter Network


असार ३०, सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ स्थित बाँके चोक नजिक रेल्वे ट्रयाकमा सोमबार बिहान भएको भीषण दुर्घटनामा परी पाँच जना घाइते भएका छन्। पिकअप र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा आगलागी भएको थियो, जसमा एक जना गम्भीर घाइते भएका छन्।

दुर्घटना सोमबार बिहान करिब १०:४५ बजे श्रीनगरबाट बाँके चोकतर्फ आउँदै गरेको प्रदेश ०३–०२८ प २१९१ नम्बरको मोटरसाइकल र बयलवासबाट बाँके खोलातर्फ गइरहेको बा. ८ च ६५ नम्बरको पिकअप ठोक्किएर भएको हो।

मोटरसाइकलमा सवार तीनै जना नेपाली सेना अन्तर्गतका सिपाहीहरू थिए। दुर्घटनामा इटहरी भगवती दल गणमा कार्यरत २३ वर्षीय चन्द्रदेव धामी, बुटवल मध्यपश्चिम पृतनामा कार्यरत २२ वर्षीय प्रशेस चौधरी२१ वर्षीय अमित चौधरी घाइते भएका छन्। तीमध्ये चालक चन्द्रदेव धामीको अवस्था गम्भीर छ। आगलागी हुँदा उहाँको शरीरको ठूलो भाग जलेको हो।

गम्भीर घाइते धामीको उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याउने तयारी गरिएको छ। हेलिकप्टर नवलपुरस्थित कालिध्वज गण पाँचकुमारी ब्यारेकबाट मगाइएको प्रमुख सेनानी गोविन्द विष्टले जानकारी दिनुभयो।

दुर्घटनामा पिकअप चालक ४० वर्षीय रामएकवाल महतो र सोही गाडीमा सवार ६५ वर्षीय लेखनाथ उपाध्याय पनि घाइते भएका छन्। चारजनाको उपचार लालबन्दीस्थित मोडेल अस्पतालमा भइरहेको छ।

दुर्घटनापछि मोटरसाइकल पूर्ण रूपमा जलेको छ भने पिकअपको अगाडिको भागमा केही क्षति पुगेको छ। पूर्व–पश्चिम राजमार्गको बाँके चोकदेखि करिब एक किलोमिटर दक्षिणतर्फ एकान्त जङ्गलमा भएको दुर्घटनापछि स्थानीयवासी र प्रहरीले उद्धार कार्यमा खटिएर घाइतेहरूको तत्काल उद्धार गरेका थिए।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom