स्याङ्जा । स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका–३ आग्रीखर्कमा अवस्थित आग्रीखर्क सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्यसमिति गठन गरिएको छ। सम्पन्न साधारणसभा तथा अधिवेशनबाट बुद्धीमान बिक अध्यक्ष र सिर्जना चापागाईं सचिव पदमा निर्वाचित हुनु भएको छ। नवगठित समितिमा अध्यक्ष, सचिवसहित ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि अर्जुनचौपारी गाउँपालिका–३ का वडा अध्यक्ष शोभाकान्त काफ्ले रहनु भएको थियो भने विशिष्ट अतिथि वन डिभिजन कार्यालय स्याङ्जाका प्रमुख नरेश पौडेल हुनुहुन्थ्यो। अतिथिहरूले सामुदायिक वन संरक्षण, दिगो व्यवस्थापन तथा स्थानीय उपभोक्ताको सक्रिय सहभागिताले मात्र वन क्षेत्रको दीर्घकालीन संरक्षण सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रम निवर्तमान अध्यक्ष टिकाराम लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो। अधिवेशनको सञ्चालन प्रेमलाल लम्सालले गर्नु भएको थियो। सो अवसरमा अध्यक्षको प्रतिवेदन निवर्तमान अध्यक्ष टिकाराम लम्सालले प्रस्तुत गर्नु भयो भने कोषाध्यक्षको प्रतिवेदन प्रेमलाल लम्सालले सभासमक्ष पेस गर्नुभयो।
प्रतिवेदन प्रस्तुतिकरणपछि वनको आर्थिक अवस्था, संरक्षणका चुनौती, आगामी कार्ययोजना तथा समुदायको भूमिकाबारे सहभागीहरूबीच छलफल भएको थियो। छलफलमा सहभागी उपभोक्ताहरूले वन संरक्षणसँगै आयआर्जनमूलक कार्यक्रम, वृक्षरोपण, डढेलो नियन्त्रण र वन्यजन्तु व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए।
नव निर्वाचित अध्यक्ष बुद्धीमान बिकले सामुदायिक वनलाई पारदर्शी, सहभागितामूलक र दिगो ढंगले व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै उपभोक्ताको साथ र सहयोगमा वन संरक्षण तथा विकासका कामलाई अगाडि बढाइने बताउनुभयो।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।






