Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

आचारसंहिता उल्लङ्घनको आरोपमा पाँच उम्मेदवारमाथि आयोगको कडा निगरानी, सात बुँदे स्पष्टीकरण माग



माघ १३ गते । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको ठहर गर्दै पाँच जना उम्मेदवारसँग सम्बन्धित सात वटा विषयमा स्पष्टीकरण माग गरेको छ। विभिन्न राजनीतिक दलका उम्मेदवार तथा संस्थाबाट आचारसंहिता विपरीत गतिविधि भएको उजुरी र अनुगमनका आधारमा आयोगले प्रारम्भिक अनुसन्धानपछि स्पष्टीकरण सोधिएको जनाएको छ।

आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र साहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत ‘हत्यारा’ भनेर टिप्पणी गरेको विषय आचारसंहिता विपरीत देखिएपछि उहाँसँग स्पष्टीकरण मागिएको हो। त्यसैगरी, रास्वपाकै अर्का उम्मेदवार निकोलस भुसालले जेन–जी आन्दोलनसँग जोडिएको जुत्तालाई चुनाव चिन्हको रूपमा प्रचार गरेको विषयमा पनि आयोगले स्पष्टिकरण माग गरेको छ।

त्यस्तै, श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले चुनावी प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गरी टिसर्ट लगाउन लगाएको विषयलाई गम्भीर रूपमा लिँदै आयोगले उहाँसँग स्पष्टीकरण सोधेको छ। आयोगका सहायक प्रवक्ता सीता पुनका अनुसार उम्मेदवार जानुका पाठकले अन्य उम्मेदवारलाई लक्षित गर्दै ‘हत्यारा’ र ‘बलात्कारी’ जस्ता आपत्तिजनक तथा घृणाजनक शब्द प्रयोग गरेको आरोपमा पनि आयोगले स्पष्टीकरण माग गरेको हो।

यसै क्रममा नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतले बालेन्द्र साहप्रति ‘छाउरा’ भन्ने अपमानजनक अभिव्यक्ति प्रयोग गरेको विषयमा समेत आयोगले आचारसंहिता उल्लङ्घन भएको भन्दै स्पष्टीकरण लिने तयारी गरेको जनाएको छ।

यता, स्वास्थ्य स्वयंसेवक सङ्घले आचारसंहिता लागू भइसकेपछि सम्बन्धित निकायको अनुमति नलिई अधिवेशन आयोजना गरेको विषयमा पनि आयोगले छानबिन गरिरहेको जानकारी दिएको छ। साथै, एक शिक्षक सरुवासँग सम्बन्धित विषयमा समेत सम्बन्धित महाशाखाबाट थप विवरण संकलन भइरहेको आयोगले जनाएको छ।

निर्वाचन आयोगले यी सबै विषयमा प्राप्त स्पष्टीकरणको अध्ययनपछि आवश्यक अनुसन्धान र कानुनबमोजिमको कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom