पुस २० गते, ओखलढुङ्गा । ओखलढुङ्गामा भएका दुईवटा विभत्स हत्या तथा लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका–३ का २८ वर्षीय मिलन भनिने संगम राई, वडा–४ का ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र वडा–८ का दोर्जे भनिने अशोक भुजेल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार पहिलो घटना २०८२ साल असोज २६ गते राति करिब १२ बजे सिद्धिचरण नगरपालिका–४ चार्खुमा भएको थियो। उक्त घटनामा अभियुक्तहरूले स्थानीय ५२ वर्षीया रत्नकुमारी कटवाल (कार्की) को घरमा प्रवेश गरी धारिलो हतियार प्रहार गरेर हत्या गर्नुका साथै घरमा रहेको नगद तथा गरगहना लुटपाट गरेका थिए।
यसैगरी दोस्रो घटना चिशंखुगढी गाउँपालिका–६ भदौरेमा पाँच दिनअघि भएको थियो। उक्त घटनामा ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगर लाई कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। अभियुक्तहरूले उनीहरूको घरबाट सुनचाँदी, नगद र मोबाइलसमेत लुटपाट गरेको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराई का अनुसार दुवै घटनामा संलग्न रहेको आरोपमा चारै जनालाई पक्राउ गरी कर्तव्य ज्यान, डाँका तथा हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा जिल्ला अदालत ओखलढुङ्गाबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले अभियुक्तहरूको साथबाट हत्या तथा लुटपाटमा प्रयोग भएको चक्कु, ७.६५ एमएमका गोलीका खोका, मोबाइल, गरगहना तथा नगद समेत बरामद गरेको जनाएको छ।






