माघ १४ गते — नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा बाबु–छोराबीच भएको झगडा मिलाउने क्रममा एक युवकको मृत्यु भएको छ।
घेवारचौरस्थित ओङ्दी शेर्पा र उनका छोरा कुन्सा ग्याल्जेन शेर्पाबीच भएको विवाद छुट्याउन जाँदा सोही स्थानका ३३ वर्षीय रणे तामाङ लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार ओङ्दी शेर्पाकी आमा चुङ्दी बिरामी रहेकाले उनको स्वास्थ्य अवस्थाबारे बुझ्न छिमेकी रणे तामाङ त्यहाँ पुगेका थिए। सोही समयमा बाबु–छोराबीच विवाद भइरहेको देखेपछि तामाङले सम्झाइबुझाइ गर्दै झगडा छुट्याउने प्रयास गरेका थिए।
विवाद चर्कँदै जाँदा बीचमा परेका तामाङ लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रारम्भिक रूपमा मृतकको शरीरमा बाह्य चोटपटक नदेखिएको र शव परीक्षणपछि मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जानकारी दिएको छ।
शव परीक्षणका लागि मृतकको शव आज त्रिशूली अस्पताल लगिएको छ। घटनासँग सम्बन्धित अनुसन्धानका लागि प्रहरीले ५२ वर्षीय ओङ्दी शेर्पा र उनका २६ वर्षीय छोरा कुन्सा ग्याल्जेन शेर्पालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले उनीहरूविरुद्ध ‘ज्यानसम्बन्धी कसुर’मा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाउन नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिएको जनाएको छ।






