माघ ९, काठमाडौं महानगरपालिका–९ सेतोपुल नजिक प्रहरीले चोरीका सामानसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले ६ गते राति करिब २२:०० बजे बा ६३ प ७०५५ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा संखुवासभा खाँदबारी नगरपालिका–९ घर भई हाल काठमाडौंको मैतिदेवी बस्दै आएका ३७ वर्षीय केभव देवान र पाँचथर फाल्गुनन्द गाउँपालिका घर भई हाल काठमाडौं रातोपुल बस्ने २६ वर्षीय कमल लिम्बु रहेका छन्।
चेकजाँचका क्रममा उनीहरूको साथबाट चोरीका विभिन्न सामान तथा स्कुटर बरामद भएपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। बरामद सामग्रीमा सुन जस्तो देखिने पहेँलो धातुको तिलहरी दुई थान, चन्द्रमा एक थान, नगद ४९ हजार ३ सय रुपैयाँ, ११ थान सिरिन्ज, दुई थान एम्पुल र एक प्याकेट खुर्सानीको धुलो रहेका छन्।
घटनासम्बन्धी थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त नयाँ बानेश्वरबाट अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।





