Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

प्लाई उद्योगको हाताभित्र तस्करीको युरिया मल, जय अम्बे प्लाईविरुद्ध भन्सार मुद्दा


माघ ९, तस्करीमार्फत भारतबाट भित्र्याइएको १ सय ८१ बोरा युरिया मल प्लाई उद्योगको हाताभित्र फेला परेपछि जय अम्बे प्लाइउड इन्डस्ट्रिज प्रालिविरुद्ध चोरीपैठारीसम्बन्धी मुद्दा दर्ता गरिएको छ।

शिवराज नगरपालिका–७ रुद्रपुरस्थित उद्योग परिसरमा कृष्णनगर भन्सार कार्यालय र सशस्त्र प्रहरीको संयुक्त टोलीले छापा मार्दा ठूलो परिमाणमा युरिया मल बरामद भएको हो। कृष्णनगर भन्सार कार्यालयका सूचना अधिकारी मन्केश कुमार कर्णका अनुसार भन्सार ऐन २०८२ बमोजिम उद्योगविरुद्ध कानुनी कारबाही अघि बढाइएको छ।

घटनाको थप अनुसन्धानका लागि भन्सार अधिकृत पदमराज पन्तको संयोजकत्वमा अनुसन्धान टोली गठन गरिएको र अनुसन्धान प्रक्रिया जारी रहेको भन्सारले जनाएको छ।

गत मंसिर २९ गते प्राप्त सूचनाका आधारमा उद्योगमा पुगेको संयुक्त टोलीले लुकाएर राखिएको अवस्थामा युरिया मल बरामद गरेको थियो। सोही घटनासँग सम्बन्धित विषयमा भन्सार कार्यालयले उद्योगलाई उपस्थित हुन निर्देशन दिएको थियो। निर्देशनअनुसार उद्योगका सञ्चालक विजय कनौडिया भन्सार कार्यालयमा उपस्थित भई बयान दिएको सूचना अधिकारी कर्णले बताए।

बयानका आधारमा भन्सारले कनौडियासँग १ लाख ८१ हजार रुपैयाँ धरौटी माग गरेको थियो। धरौटी बुझाएर आवश्यक परेको समयमा उपस्थित हुने गरी उनले लिखित प्रतिबद्धता जनाएका छन्।

स्रोतका अनुसार तस्करहरूले विभिन्न नाका प्रयोग गरी युरिया मल भित्र्याएर प्लाई उद्योगहरूलाई बिक्री गर्ने गरेका छन्। चन्द्रौटादेखि कृष्णनगर क्षेत्रसम्म रहेका करिब ८ वटा प्लाई उद्योगमा तस्करीको युरिया मल प्रयोग हुँदै आएको बताइन्छ। तर सुरक्षा निकायले कहिलेकाहीँ मात्र यस्ता मल बरामद गर्ने गरेको स्थानीयको गुनासो छ।

प्लाई उद्योगमा युरिया मल गोंद (गम) का रूपमा प्रयोग गरिने गरिन्छ, जसका कारण मलको अवैध प्रयोग र तस्करी थप चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाहरूको भनाइ छ।

Top Post Ad

post bottom ads

Ads Bottom