Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

विदेशी लगानीमा उछाल : सात महिनामै ४० अर्ब पार, माघमा मात्रै १ अर्ब ४ करोड प्रतिबद्धता


माघ ६ गते ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को माघ महिनामा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) उत्साहजनक रूपमा भित्रिएको छ। का अनुसार माघ महिनामा मात्र १ अर्ब ४ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता प्राप्त भएको छ। उक्त रकम ४९ वटा उद्योगमा लगानी गर्ने प्रतिबद्धताका रूपमा आएको हो।

माघ महिनामा स्वचालित (अटोमेटिक) मार्गबाट ३७ उद्योगमा ४४ करोड ९ लाख ५० हजार रुपैयाँ तथा अप्रुभल रुटमार्फत १२ उद्योगमा ६० करोड ६२ लाख रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको तथ्यांकले देखाउँछ।

साउनदेखि माघसम्मको सात महिनामा भने विदेशी लगानी प्रतिबद्धता ४० अर्ब २८ करोड ३३ लाख रुपैयाँ पुगेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै साढे १३ अर्ब रुपैयाँले बढी हो। अघिल्लो वर्ष माघसम्म २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको थियो।

उद्योगको वर्गीकरण हेर्दा ८ ठूला, ८ मझौला र ५०७ साना उद्योगमा लगानी प्रतिबद्धता आएको छ। माघमा मात्र एक ठूलो उद्योग दर्ता भएको छ भने अन्य सबै साना उद्योग रहेका छन्।

सरकारले अटोमेटिक रुटमार्फत लगानीको माथिल्लो सीमा हटाएर प्रक्रिया सहज बनाएपछि लगानी आकर्षणमा सकारात्मक प्रभाव परेको देखिन्छ। सात महिनामा अटोमेटिक रुटबाट ३ अर्ब २५ करोड र अप्रुभल रुटबाट ३७ अर्ब ३ करोड रुपैयाँ बराबर प्रतिबद्धता आएको छ।

उद्योग संख्याका आधारमा सूचना प्रविधि क्षेत्र सबैभन्दा अगाडि छ, जहाँ २८८ उद्योग दर्ता भएका छन्। त्यसपछि पर्यटन (१५०), उत्पादनमूलक (३५), सेवामूलक (३४), कृषि (१४), खनिज (२) र ऊर्जा (१) उद्योग दर्ता भएका छन्।

तर लगानी रकमका हिसाबले कृषि क्षेत्र अग्रस्थानमा रहेको छ। कृषिमा २१ अर्ब ९० करोड रुपैयाँ बराबर प्रतिबद्धता आएको छ। पर्यटन क्षेत्रमा १० अर्ब ८६ करोड, सेवामा ३ अर्ब ५४ करोड र उत्पादन क्षेत्रमा २ अर्ब ४० करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता देखिएको छ।

रोजगारीतर्फ हेर्दा माघसम्म दर्ता भएका उद्योगहरूले २० हजार ८९६ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन्। माघ महिनामा मात्रै थप ६८७ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।

हालसम्म नेपालमा ७ हजार ७६२ उद्योगमा ६ खर्ब ७६ अर्ब ४८ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आइसकेको छ, जसबाट ३ लाख ६२ हजार ३८५ जनालाई रोजगारी उपलब्ध गराउने लक्ष्य राखिएको छ। कृषि उत्पादन, सूचना प्रविधि र पर्यटन क्षेत्र विदेशी लगानीकर्ताको आकर्षणको केन्द्रका रूपमा उभिएका छन्।

Top Post Ad

post bottom ads

Ads Bottom