आपूर्ति व्यवस्थापनसम्बन्धी समन्वय बैठकपछि पोखराका विभिन्न स्थानमा रहेका ग्यास डिलरहरूको संयुक्त अनुगमन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा जिल्ला प्रहरी कार्यालय, नेपाल आयल निगम, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा उपभोक्ता मञ्चका प्रतिनिधिहरू सम्मिलित टोलीले पाँच वटा ग्यास डिलरमा अनुगमन गरेको हो।
अनुगमनका क्रममा तीन वटा ग्यास डिलरमा ग्यासको मौज्दात लुकाइछिपाइ राखेको वा अनुचित भण्डारण गरेको नपाइएको टोलीले जनाएको छ। अर्को एक ग्यास डिलरमा भने ७.१ केजीका ३२४ थान ग्यास सिलिन्डर झार्दै गरेको अवस्थामा फेला परेको थियो।
यसैबीच पोखरा महानगरपालिका–६ जरेवरस्थित भण्डारी ट्रेडर्समा भने अनुगमन टोलीले १४.२ केजीका ४८ थान एलपी ग्यास सिलिन्डर अनुचित रूपमा लुकाइछिपाइ राखेको तथा कृत्रिम अभाव सिर्जना गरेको पाइएको जनाएको छ। सोही स्थानमा एउटा सिलिन्डरबाट अर्को सिलिन्डरमा ग्यास सार्ने कार्य भइरहेको अवस्थामा तीन वटा उपकरण समेत फेला परेको थियो।
उपभोक्ता संरक्षणसम्बन्धी कानुन विपरीतको गतिविधि गरेको पाइएपछि भण्डारी ट्रेडर्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्काल ५० हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ।
अनुगमन टोलीले उक्त डिलरमा भेटिएका १४.२ केजीका ४८ थान र ७.१ केजीका ३८ थान ग्यास सिलिन्डर उपभोक्तालाई ‘पहिले आउनेलाई पहिले सेवा’को आधारमा बिना भेदभाव बिक्री वितरण गर्न निर्देशन दिएको छ। साथै ग्यासको परिमाणमा फेरबदल नगर्न, कृत्रिम अभाव सिर्जना नगर्न तथा उपभोक्ता हितविपरीतका गतिविधि नगर्न समेत चेतावनी दिइएको छ।








