जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको “अपरेसन ३६५” अभियानअन्तर्गत ध्वनि प्रदूषण तथा शान्ति सुरक्षामा असर पार्ने गतिविधिविरुद्ध कारबाहीलाई तीव्रता दिएको छ।
पछिल्लो समय मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाइ) गरी अत्यधिक आवाज निकाल्ने, सर्वसाधारणलाई आतंकित पार्ने तथा सार्वजनिक शान्ति खल्बल्याउने गतिविधि बढेको भन्दै प्राप्त गुनासाका आधारमा प्रहरीले निगरानी बढाएको हो।
यसैक्रममा मिति २०८२ चैत ९ गतेदेखि खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट चर्को आवाज निकाल्ने गरी सञ्चालन गरिएका थप १० वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। ती सवारीसाधनमाथि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यो अभियान सुरु भएयता हालसम्म ४१४ वटा सवारीसाधन र ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ।
प्रहरीले सवारीधनीलाई सवारीसाधनको मूल स्वरूप परिवर्तन नगरी पूर्ववत अवस्थामै सञ्चालन गर्न आग्रह गरेको छ। साथै मोडिफिकेसनमा संलग्न ग्यारेज, वर्कसप तथा रिकन्डिसन हाउस सञ्चालकलाई पनि यस्तो कार्य नगर्न चेतावनी दिइएको छ।
सवारीसाधनको स्वरूप परिवर्तन गरी सञ्चालन गरेको पाइएमा सम्बन्धित सवारीधनी र संलग्न व्यक्तिहरूमाथि प्रचलित कानूनअनुसार कडा कारबाही गरिने प्रहरीले जनाएको छ।






