काठमाडौं । रोमानियाको भिसा लगाइदिने भन्दै विभिन्न व्यक्तिका ३७ वटा राहदानी बोकेर भारत जान लागेका एक व्यक्तिलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–१३ का अजित श्रेष्ठ रहेका छन्।
प्रहरीका अनुसार उनलाई थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको छ। घटनाबारे जानकारी दिँदै प्रहरी उपरीक्षक राजकुमार सिलवाल ले पछिल्लो समय रोमानिया रोजगारको नाममा एजेन्टहरूको सक्रियता बढ्दो रहेको बताए।
वैदेशिक रोजगारीका लागि जाने युवाबाट ८ देखि १० लाख रुपैयाँसम्म असुल्ने गरिएको गुनासो बढिरहेको प्रहरीले जनाएको छ। अधिकांश कामदारसँग रकम बुझाएको आधिकारिक प्रमाणसमेत नहुने गरेको पाइएको छ।
प्रहरीका अनुसार कतिपय अवस्थामा एजेन्टमार्फत विदेश पुगेकाहरूले भनेअनुसारको काम, तलब तथा सुविधा नपाएको गुनासो गर्ने गरेका छन् भने धेरै युवाहरू नेपालमै आर्थिक रूपमा ठगिने जोखिममा पर्ने गरेका छन्।
प्रहरीले वैदेशिक रोजगारीमा जान चाहनेलाई आधिकारिक म्यानपावर कम्पनी तथा सरकारी निकायमार्फत मात्रै प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।





