नुवाकोट । नुवाकोटमा बिहीबार साँझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको काठमाडौंस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार छहरे–टोखा सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्ज्याङमा बिएई ०५६९ नम्बरको विद्युतीय जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा सिराहाको सुखीपुर नगरपालिका–२ का ३५ वर्षीय सञ्जीवकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौंस्थित ग्राण्डी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । साथमा रहेको सवारी चालक अनुमति पत्रका आधारमा उनको सनाखत गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सुनसरीको इनरुवा नगरपालिका–५ का ४० वर्षीय उत्सव पोखरेल र काठमाडौं महानगरपालिका–९ गौरीघाटका ४४ वर्षीय लोकेश मिश्रको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार गुडिरहेको जिप अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो । स्थानीयवासीको सहयोगमा प्रहरीले अँध्यारो र जङ्गल क्षेत्रका बाबजुद तत्काल उद्धार गरी घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाएको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





